प्रधानमन्त्रीको ‘अफर’मा लोभिएका उपेन्द्रलाई राजनीतिक संकट

ठूला दलको सत्ता स्वार्थमा मिसिँदा मारमा साना दल
वैशाख २४, २०८१ |दशरथ राई
प्रधानमन्त्रीको ‘अफर’मा लोभिएका उपेन्द्रलाई राजनीतिक संकट

काठमाडौं । वर्तमान सत्ता गठबन्धनलाई टिकाउने कि नयाँ समीकरण बनाउने भन्ने गोलचक्करमा पर्दा उपेन्द्र यादव नेतृत्वको जसपा विभाजित भएको छ । पार्टी विभाजन हुनुमा न नीतिगत न त सैद्धान्तिक मतभेद नै छ, मात्र सत्ता प्राप्तिको चरम महत्त्वाकांक्षा देखिएको छ ।

प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी सत्ता गठबन्धनमा छ र यसका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री हुनुहुन्छ । तर सत्तामा त्यो भन्दा ठूलो भाग पाउने लोभका बीच उहाँको दल नै विभाजन भएको छ । स्रोतका अनुसार ठूला दलको तानातानमा प्रधानमन्त्रीसम्मको अफर पाएपछि लोभिएका उहाँको उपप्रधानमन्त्री पदसमेत खतरामा परेको छ ।

जसपाका नेताहरुकै भनाइलाई आधार मान्दा अध्यक्ष उपेन्द्र यादवले सरकारमै बसेर वैकल्पिक गठबन्धन बनाउन चलखेल गरेका थिए । दल विभाजन गरेर निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउन पुगेका नेताहरुको प्रस्ट आरोप छ- सत्तामै बसेर त्यही सत्तारुढ गठबन्धनविरुद्ध चलखेल गर्ने ? पार्टी विभाजन हुनुमा विभाजन पक्षधर होस वा संस्थापन पक्ष दुईबीच कुनै सैद्धान्तिक वैचारिक मतभेद भने छैन ।

दुवैले सत्ता प्राप्तिलाई आधार बनाएका छन् । विभाजन पक्षधर वर्तमान सत्ता गठबन्धनलाई सहयोग गर्नुपर्छ भन्ने पक्षमा देखिन्छ भने उपेन्द्र यादव नयाँ गठबन्धन बनाउने पक्षमा भित्रभित्रै लागेका थिए ।

पार्टी विभाजनको अन्तिम कसरत चलिरहँदा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव विदेश भ्रमण हुनुहुन्थ्यो । विभाजित भएसँगै १२ जना सांसद रहेको जसपामा अब अध्यक्ष यादवको पक्षमा पाँचजना मात्र सांसद् रहनेछन् ।

जसपाबाट फुटेको समूहलाई निर्वाचन आयोगले दियो दलको वैधता

जसपा विभाजनको जड सत्ता गठबन्धनभित्र रहेर पनि नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको तिक्तता र कुण्ठा बनेको छ । वर्तमान गठबन्धनमा नेपाललाई ल्याउन कुनै हालतमा ओली तयार हुनुहुन्थेन । तर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर नेपाल वैकल्पिक गठबन्धनतर्फ लाग्ने देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा नेपालसँग ओली वार्ता गर्न तयार हुनुभयो । वार्तामा कुरा मिलेर वर्तमान गठबन्धन त बन्यो तर ओली-नेपाल तिक्तता मेटिएन ।

यही तिक्तताबीच खेलेर कांग्रेसले वर्तमान गठबन्धन पनि टुट्ने र आफू पनि सरकारमा सामेल हुन पाउने देखेपछि नेपाललाई प्रधानमन्त्री मानेर अगाडि बढ्न पनि तयार भयो । र, सुरु भयो नयाँ चलखेल । यो नयाँ चलखेलमा कांग्रेस र नेकपा एकीकृत समाजवादी मात्र मिलेर नपुग्ने भएपछि नयाँ दलको खोजी सुरु भयो र अगाडि आए यादव । यादवलाई पनि आलोपालोमा प्रधानमन्त्री बनाउने अफर दिएपछि वर्तमान गठबन्धन भत्काउन उहाँ तयार भएको स्रोत बताउँछ ।

भित्रभित्रै भइरहेको यो चलखेल थाहा पाएपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली सतर्क हुनुभयो । उहाँहरुले प्रतिचाल चलेको र जसपा विभाजन भएको बताइएको छ । किनकि विभाजित समूहले दाहाल नेतृत्वको सरकारमै रहने स्पष्ट पारिसकेकाले पनि यो तथ्यमा बल पुगेको छ ।

सिंगै जसपा सरकारबाट बाहिरिने स्थिति बनेको भए दाहाल नेतृत्वको सरकार संकटमा पर्ने थियो । किनकि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि अहिलेको गठबन्धनमा असन्तुष्ट छ । जसपा र एकीकृत समाजवादीले सरकार छाडेर नेपाली कांग्रेसले गठन गर्न खोजेको वैकल्पिक गठबन्धनमा जोडिन पुगे सरकार अल्पमतमा पर्ने थियो ।

हेरौं दशरथ राईले लेखेका थप स्टोरी


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।