सत्ता स्वार्थमा लाग्दा जसपामा फुट, संकटमा उपेन्द्र

वैशाख २४, २०८१ |जितेन्द्र झा
सत्ता स्वार्थमा लाग्दा जसपामा फुट, संकटमा उपेन्द्र

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेता राजेन्द्र श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर अमेरिका उडेका थिए । तर यादव स्वदेश नफर्कँदै उनै श्रेष्ठले पार्टी फुटाए । यादवको नेतृत्वमा रहेको पार्टी टुटफुटको शृंखला नौलो भने होइन । उनले मधेसी जनअधिकार फोरमको नेतृत्व लिएयताका हरेक एक या दुई वर्षमा पार्टी टुटफुट हुने गरेको छ । तर पछिल्लो पटकको विभाजन भने फरक छ ।

चार वर्षअघि २०७७ वैशाखमा सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि उपेन्द्र यादव नेतृत्वको समाजवादी र महन्थ ठाकुर नेतृत्वको राजपाबीच रातारात एकता भएर जनता समाजवादी पार्टी बन्यो । पार्टी फुटाउन आवश्यक संख्या नै नपुग्ने भएपछि त्यतिखेर पार्टी विभाजनको खतरा टरेको थियो । तर त्यो एकता पनि टिकाउ भएन ।

उपेन्द्र यादव र महन्थ ठाकुरले एक-अर्कालाई कारबाही गरेपछि जसपा फेरि फुट्यो । र, ठाकुरले आफ्नै नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनाए । त्यही जसपा फेरि अहिले दुई चिरा भएको छ । यसपटक सत्तारुढ दलले सत्तामै भएको अर्को दललाई विभाजन गर्न मलजल गरेको देखिएको विश्लेषक चन्द्रकिशोरको टिप्पणी छ ।

उपेन्द्र यादवले आदिवासी, जनजाति र खसआर्यलाई पार्टीमा आकर्षित गर्न पार्टीको नामबाट मधेसी शब्द नै ‘डिलिट’ गरेका थिए । आदिवासी जनजातिको पहिचानको मुद्दालाई एमालेले बेवास्ता गरेको भन्दै पार्टी छाडेका अशोक राई, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठलगायत प्रभावशाली नेतालाई यादवले समेटेका थिए । तर निर्वाचनमा अधिकांश क्षेत्रमा उम्मेदवारी दिए पनि पहाड र हिमालबाट जसपा उम्मेदवारले प्रत्यक्ष चुनाव जित्न सकेनन् । अहिले कम्युनिस्ट दल नेतृत्वको सरकार जोगाउन भन्दै तिनै पूर्वएमाले नेताहरु गोलबद्ध भएर यादवको साथ छाडेका छन् ।

योपटक पनि जसपाको विभाजन कुनै नीति र सिद्धान्तसँग जोडिएको छैन । सरकार पुनर्गठन भएपछि तत्कालीन शिक्षामन्त्री अशोक राईले सरकारमा आफ्नो निरन्तरता चाहेका थिए । उपेन्द्रले आफू नै मन्त्री बन्ने चाहनासहित अगाडि बढेपछि राई असन्तुष्ट भए ।

यसैगरी सांसद प्रदीप यादवले कित्ता फेर्नुको कारण पनि मन्त्री नबनाएको आक्रोश हो । पार्टी फोडेका नेताहरुले उपेन्द्र यादवले पार्टीमा सामूहिक निर्णय गर्नुका साटो आफूखुसी एकल निर्णय गरेको भन्दै आलोचना गरेका छन् । अहिले भएको विभाजनमा बहालबाला मन्त्रीले समेत यादवलाई छाडेर हिँडेका छन् । ‘अध्यक्षजी पार्टीमा एकलौटी र आफूखुसी हिँड्न थाल्नुभएको थियो । कसैसँग सरसल्लाह पनि नगरी आफैं निर्णय गर्नुहुन्थ्यो,’ जनता समाजवादी पार्टीका उपाध्यक्ष नवलकिशोर साहले भन्नुभयो ।

पार्टी विभाजनपछि उपेन्द्र यादवको राजनीतिक मिसनमा धक्का लागेको छ । उहाँ सरकारमा रहनुहुन्छ या हुन्न भन्ने अहिलेसम्म यकिन त भएको छैन तर नैतिकतामाथि भने प्रश्न उठेको छ ।

यो पनि...

जसपा फुट : सत्ता गठबन्धनलाई राहत, दलहरुभित्र एक्ला-एक्लै छलफल

जसपाबाट फुटेको समूहलाई निर्वाचन आयोगले दियो दलको वैधता

प्रधानमन्त्रीको ‘अफर’मा लोभिएका उपेन्द्रलाई राजनीतिक संकट


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।