काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ ।
साँझ ५ बजे जमलस्थित तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने छ । जात्राको पहिलो दिन आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी जमलबाट विभिन्न टोल हुँदै असन पुर्याएपछि बलि दिएर पूजा गर्ने परम्परा छ ।
नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पुर्याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोल पुर्याएपछि रथयात्रा सम्पन्न हुन्छ । त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पुर्याएपछि जात्रा सकिने प्रचलन छ ।
सेतो मच्छिन्द्रनाथलाई विशेषगरी करुणा र सद्भावनाका देवताका रुपमा पूजा गर्ने चलन छ ।