युद्धग्रस्त रुसमा श्रमिक पठाउने सरकारको गैरजिम्मेवार निर्णय

सुरक्षाको ग्यारेन्टीविनै रुसमा श्रमिक पठाउने निर्णयको आलोचना
परराष्ट्र र श्रममन्त्रीसँग जवाफ माग्ने तयारी
चैत्र १५, २०८० |सुबिन्द्र श्रेष्ठ
युद्धग्रस्त रुसमा श्रमिक पठाउने सरकारको गैरजिम्मेवार निर्णय

काठमाडौं । युद्धग्रस्त रुसको सेनामा भर्ना भएका नेपालीले स्वदेश फर्काइदिन हारगुहार गरिरहेका बेला सरकारले आफ्ना थप नागरिकलाई जोखिम क्षेत्रमा पठाउने गलत निर्णय लिएको छ ।

रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांकसमेत थाहा नपाएको सरकारले उल्टै आफ्ना अरु नागरिकलाई काम गर्न जान स्वीकृति दिएको हो । रुस जाने श्रमिकको सुरक्षा प्रत्याभूतिसमेत छैन । तर सुरक्षाको ग्यारेन्टीविनै रुसमा श्रमिक पठाउने निर्णयको आलोचना भइरहेको छ ।

आफ्ना नागरिक जुन देशमा पुगे पनि उनीहरुको सुरक्षाको प्रत्याभूति गर्ने जिम्मेवारी सरकारको हो । तर अहिलेसम्म रुसी सेनामा भर्ना भएका नेपालीलाई सरकारले फर्काउन सकेको छैन । त्यति मात्र होइन युद्धग्रस्त मुलुकमा आफ्ना नागरिक नपठाउने नीति नै छ । तर त्यसविपरीत सरकारले श्रमिक जान दिने निर्णय गरेको छ ।

सरकारको निर्णयप्रति चासो देखाउँदै संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन गर्ने तयारी गरेको छ । नागरिकको सुरक्षाको बेवास्ता गर्दै रुसमा श्रमिक पठाउने निर्णय गरिएकोबारेमा श्रम तथा परराष्ट्रमन्त्रीलाई समेत बोलाएर जानकारी लिने समिति सभापति राजकिशोर यादवले जनाए ।

युद्धग्रस्त देश रुसमा नेपाली मारिइरहेको र जीवित रहेकाले उद्धारको याचना गरिरहेका बेला वैदेशिक रोजगार विभागले रुसको एक कम्पनीमा नेपाली कामदार पठाउन सकिने गरी श्रम स्वीकृति दिएपछि विवाद उत्पन्न भएको हो । यस्तो गलत निर्णय लिने कामलाई सरकारको गैरजिम्मेवारी भन्दै तत्काल फिर्ता लिनुपर्ने पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी बताउँछन् ।

युद्धग्रस्त देशमा कामदार पठाउन नमिल्ने हुदाँ-हुँदै पनि वैदेशिक रोजगार विभागले भने गलत तर्क गरिरहेको छ ।

जुनसुकै तर्क गरे पनि अहिले गएका नागरिक कुनै समस्यामा परेमा के हाम्रो सरकारले उनीहरुसम्म पहुँच पुर्याउन सक्छ ? अवश्य पनि सक्दैन किनकि अहिले नै रुससम्मको पहुँचमा सरकार निरिह छ । यसकारण रुस पुगेकाहरुको सुरक्षित उद्धार गर्न नसकेको अवस्थामा रोजगारीकै नाममा युद्धग्रस्त देशमा पठाउन स्वीकृति दिने सरकारको निर्णय गैरजिम्मेवार मात्र होइन गलत पनि हो ?

यो पनि...

कसको स्वार्थमा भयो रुसमा श्रमिक पठाउने निर्णय ?


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement