भारतीय कम्पनी नेस्लेले आफ्नो उत्पादनमा अतिरिक्त चिनी मिसाएको पाइएपछि सेयर मूल्यमा पाँच प्रतिशतभन्दा बढी गिरावट

एकै दिनमा भएको गिरावट तीन वर्षयताकै उच्च
वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतीय कम्पनी नेस्लेले आफ्नो उत्पादनमा अतिरिक्त चिनी मिसाएको पाइएपछि सेयर मूल्यमा पाँच प्रतिशतभन्दा बढी गिरावट

काठमाडौं । बहुराष्ट्रिय खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी नेस्लेले भारत लगायत एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरूमा बिक्री गर्ने दूध र सेरेलेक जस्ता शिशुका लागि उत्पादित खाद्य अर्थात् "बेबी फुड"मा अतिरिक्त चिनीको मात्रा मिसाउने गरेको खुलासा भएको छ । योसँगै भारतमा नेस्लेको सेयर मूल्यमा पाँच प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

यो गिरावट एकै दिनमा भएको तीन वर्षयताकै उच्च भएको भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् । स्विट्जरल्यान्डको गैरसरकारी संस्था पब्लिक आई र इन्टरनेसनल बेबी फुड एक्सन नेटवर्कले गरेको अनुसन्धानमा शिशुका लागि उत्पादित दूध र सेरेलेकमा नेस्लेले चिनी र मह मिसाउने गरेको र यो मोटोपना र दीर्घ रोग लाग्नबाट रोक्नका लागि बनाइएको अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन भएको जनाइएको छ । 

स्विट्जरल्यान्ड, बेलायत, जर्मनी जस्ता देशहरूमा भने उसले ती उत्पादनमा चिनीको अतिरिक्त मात्रा मिलाउने नगरेको जनाइएको छ । पब्लिक आईले यसलाई नेस्लेको दोहोरो मापदण्ड भन्दै आलोचना गरेको छ । नेस्ले इन्डिययाले भारतमा उत्पादन तथा बिक्री गर्ने १५ प्रकारका सेरेलेक बेबी प्रडक्टको प्रति उत्पादनमा करिब तीन ग्राम अतिरिक्त चिनी मिसाउने गरेको पाइएको छ । 

इथियोपिया र थाइल्यान्डमा यिनै उत्पादनमा ६ ग्राम चिनी मिसाउने गरेको अनुसन्धानले देखाएको छ । यी उत्पादनको प्याकेजहरूमा दिइएको पोषण सूचनामा थपिएको चिनीको मात्राबारे उल्लेखसमेत नगरेको पाइएको अनुसन्धानले देखाएको छ । नेस्लेले भारतमा सन् २०२२ मा २० हजार करोड मूल्य बराबराको सेरेलेक बिक्री गरेको स्थानीय समाचार माध्यमले उल्लेख गरेका छन् । 

शिशु उत्पादनमा चिनीको मात्रा थप गर्नु हानिकारक र अनावश्यक अभ्यास भएको विज्ञहरूको भनाइ छ । यसैबीच एक जना शीर्ष सरकारी अधिकारीले नेस्लेका सम्बन्धमा आएको अनुसन्धान प्रतिवेदनलाई जानकारीमा लिएको र यसबारे जाँच गर्ने बताएको भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement