राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सीले आज इरानी आणविक केन्द्रको निरीक्षण गर्ने

इजरायलले निशाना बनाउन खोजेको भन्दै महानिर्देशक ग्रोसीद्वारा चिन्ता व्यक्त
वैशाख ४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सीले आज इरानी आणविक केन्द्रको निरीक्षण गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानी आणविक केन्द्रमा इजरायलले निशाना बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इजरायलले हिजो इरानी आक्रमणको जवाफी कारबाही गर्ने भनेपछि महानिर्देशक ग्रोसीले न्यूयोर्कमा आयोजित पत्रकार सम्मलेनमा इरानी आणविक केन्द्रमा आक्रमण हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । इरानी आणविक केन्द्रमा इजरायली आक्रमणको सम्भावना रहेको विषयमा पत्रकारको प्रश्नमा ग्रोसीले त्यसबारे चिन्ता व्यक्त गरेका हुन् । ग्रोसीले सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरे ।

महानिर्देशक ग्रोसीले इरानले सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि आफ्ना आणविक केन्द्रहरू बन्द गरेको बताए । स्थिति पूर्ण रूपमा शान्त नभएसम्म आणविक ऊर्जा एजेन्सीका महानिर्देशक ग्रोसी सहितका निरीक्षकहरूलाई त्यहाँ निरीक्षण नगर्न इरानले भनेको समेत जानकारी दिए । तर, आज इरानी आणविक केन्द्रमा निरीक्षण सुरु हुने उनले बताए ।

अप्रिल एकमा सिरियास्थित इरानी कन्सुलर कार्यालयमा इजरायलले गरेको आक्रमणको जवाफ भन्दै इरानले इजरायलमाथि शनिबार ड्रोन आक्रमण गरेको थियो । दुई देशका कारण मध्यपूर्वमा तनाव बढिरहँदा संयुक्त राष्ट्रसंघ तथा अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रहरुले इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् ।



Enter Kantipur TV HD
Advertisement