बालबालिकामा हुने क्यान्सरको उपचारमा सरकारले ३४ प्रकारका औषधि नि:शुल्क दिने

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
बालबालिकामा हुने क्यान्सरको उपचारमा सरकारले ३४ प्रकारका औषधि नि:शुल्क दिने

काठमाडौं । सरकारले बालबालिकामा हुन सक्ने क्यान्सरको उपचारमा सहयोग पुर्याउन ३४ प्रकारका औषधि ४ वर्षका लागि नि:शुल्क वितरण गर्ने भएको छ ।

बाल क्यान्सरको औषधि नि:शुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन र अमेरिकाको सेन्ट ज्युड हस्पिटलसँग सहमति गरेको हो । यस्तो औषधि नि:शुल्क पाउने देशमध्ये नेपाल दक्षिण एसियामै पहिलो हो ।

यी औषधि यही आर्थिक वर्षबाट उपलब्ध हुनेछ । सुरुवाति चरणमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपलब्ध हुनेछ । अन्य अस्पतालमा पनि विस्तारै सेवा दिइने स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनाए ।

कान्ति बाल अस्पतालमा मात्र बर्सेनि एक सयदेखि १२० जना क्यान्सरका बालबालिका पुग्ने गरेका छन् । अस्पतालले बाल क्यान्सरको जोखिम २० देखि २५ प्रतिशतले वृद्धि भइरहेको जनाएको छ । बालबालिकामा सबैभन्दा बढी रगतको क्यान्सर देखिने गरेको छ । त्यसैगरी आँखा, कलेजोलगायतको क्यान्सरको समस्या पनि बालबालिकामा हुने गरेको कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले जनाए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विकसित देशमा क्यान्सर भएका बालबालिकामध्ये ८० प्रतिशत निको हुने गरेको छ । नेपालमा भने अहिलेसम्म २० प्रतिशतलाई मात्र बचाउन सकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement