‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ सहित नेपाल व्यवसाय शिखर सम्मेलन हुँदै

पुस ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ सहित नेपाल व्यवसाय शिखर सम्मेलन हुँदै

काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयको साझेदारीमा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ हुने भएको छ ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा बृहत् नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित बृहत् नीति संवाद क्रमशः आउँदो माघ मसान्तभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी सिबिफिन र एनबीआईबीच सम्झौता भएको छ । सिबिफिनको कार्यालय सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबीआईकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।

सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी-व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सोका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ ।

सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम/व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षासमेत राखिएको छ ।

प्रदेशस्तरीय बृहत् नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेतृत्व, व्यवसायिक संस्थाका नेतृत्व, सम्पूर्ण पालिकाका प्रमुख/उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीको व्यापक सहभागिता रहनेछ । समापन सत्रमा संघीयस्तरमा आयोजना हुने सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा बृहत् नीति संवाद आयोजना गरिनेछ ।

त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरी ‘आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र’ विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट २५ लेखलाई र्‍यांकिङका आधारमा नगद पुरस्कार र प्रशंसापत्रबाट पुरस्कृत गरिनेछ । सफल उद्यमी/व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाडमार्फत सम्मान गरिनेछ ।

शिखर सम्मेलन आयोजनासम्बन्धी हस्ताक्षर समारोहमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, महानिर्देशक गोपालप्रसाद तिवारी र एनबीआईकातर्फबाट सल्लाहकारद्वय विनोद गुरागाईं र नरेशप्रसाद श्रेष्ठलगायतको सहभागिता थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.