आईसीटी अवार्डको ग्रान्ड फिनाले र छनोट प्रक्रिया कान्तिपुर टीभीमा

मंसिर ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
आईसीटी अवार्डको ग्रान्ड फिनाले र छनोट प्रक्रिया कान्तिपुर टीभीमा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्ड’को सातौं संस्करणका लागि ब्रोडकास्टिङ पार्टनरका रुपमा कान्तिपुर टेलिभिजन रहने भएको छ । कान्तिपुर टेलिभिजनका सीईओ शिशिर पछाईं र लिभिङ विथ आईसीटीका संस्थापक राजन लम्सालबीच मंगलबार आईसीटी अवार्डको प्रशारण सम्बन्धमा सम्झौता भएको हो ।

कान्तिपुर टेलिभिजनले इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एन्ड जेनेसिसका महत्त्वपूर्ण प्रि-इभेन्ट सेसनहरु प्रशारण गर्नेछ । विशेषगरी स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका प्रिजेन्टेसन तथा स्पिड डेटिङ र ग्रान्ड जुरी मिटिङका सेसनहरु विभिन्न चार एपिसोडमा प्रशारण हुनेछ । यसैगरी पुस ८ गते हुने अवार्डको ग्रान्ड फिनाले टेलिभिजन र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण हुनेछ । हस्ताक्षर कार्यक्रममा कान्तिपुर टेलिभिजनका सीईओ पछाईंले यो सहकार्यले स्टार्टअप र आईसीटी क्षेत्रमा थप सम्भावना र अवसर सिर्जना गर्ने बताए ।

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्डको सातौ संस्करणमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई समेत समेटेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि आयोजना हुँदै छ । यस वर्ष विभिन्न १२ विधामा अवार्ड घोषणा हुनेछ । विभिन्न विधामा ५०० भन्दा बढीको अनलाइन नोमिनेसन र सल्लाहकार समितिको सिफारिस थियो । आईसीटी अवार्डको छनोट प्रक्रियामा १३ विज्ञ जुरी सदस्य र १५ विशिष्ट सल्लाहकार छन् ।

स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डसँगै पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधा छन् । यसैगरी यस वर्ष निजी र सरकारी शैक्षिक संस्थालाई प्रदान गरिने डिजिटल एजुकेसन आईसीटी अवार्ड, सरकारी संस्थालाई डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र कर्पोरेट क्षेत्रका लागि डिजिटल सर्भिसेस आईसीटी अवार्ड विधाहरुमा पनि समावेश छन् ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा हुने प्रविधि क्षेत्रको यस अवार्डको प्रि-इभेन्टका रुपमा गत कात्तिक १८ र १९ गते स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना भएको थियो । यसैगरी सातै प्रदेशमा गरेर त्यहाँका स्टार्टअपहरु खोज्दै उनीहरुलाई काठमाडौं ल्याएर बुटक्याम्प र इन्कुवेसन पनि सञ्चालन भएको थियो । अवार्डको छनोट प्रक्रिया उत्कृष्ट बनाउन २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुनेछन् । कान्तिपुर टेलिभिजनले तीन विधाका उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीको आइडिया तथा पिचिङ सेसनलाई मंसिर १५ देखि प्रशारण गर्नेछ ।

आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते दी सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यस कार्यक्रमका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेक कम्पनीहरु तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमेतको सहकार्य छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.