दुर्गममा उडान भर्ने जहाज घटे, सुगममा बढे

बुद्धले एक, यती र श्रीले दुई-दुईवटा जहाज भित्र्याए
चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
दुर्गममा उडान भर्ने जहाज घटे, सुगममा बढे

काठमाडौं । दुर्गममा उडान गर्ने जहाजको संख्या घट्दै गएको अवस्थामा ट्रंक रुट अर्थात् सुगम क्षेत्रमा उड्ने जहाजको संख्या भने बढेको छ । सुगममा यात्रुको संख्या धेरै हुने र नाफा पनि बढी कमाउने पाइने भएकाले वायुसेवा कम्पनीहरुले जहाज थपेका हुन् ।

पछिल्लो एक वर्षमा तीनवटा वायुसेवा कम्पनीले पाँचवटा नयाँ जहाज थपेका छन् । जसमा बुद्धले एक, यतीले दुई र श्रीले दुईवटा जहाज भित्र्याएका हुन् । बुद्ध र यतीले एटीआर-सेभेन्टी-टु विमान ल्याएका छन् भने श्रीले ८० सिट क्षमताका नयाँ सिरिजका बम्बार्डियर जहाज ल्याएको हो । जहाजको संख्या थपिँदा वायुसेवा क्षेत्र थप बलियो र विश्वसनीय हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दाबी गरे ।

सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले भने जहाज थप्न सकेको छैन । श्री एयरलाइन्सले दुईवटा नयाँ जहाजमार्फत अबको केही दिनमै सुर्खेत, तुम्लिङटार, भरपूरलगायत गन्तव्यमा उडान भर्ने तयारी थालेको प्रवक्ता अनिल मानन्धरले जनाए ।

अहिले सुगम क्षेत्रमा उडान गर्ने बुद्धसँग १७, श्रीसँग १०, यतीसँग ७ र सौर्य एयरलाइन्ससँग तीनवटा जहाज छन् । हरेक वर्ष हवाई यात्रुको संख्या १० देखि १२ प्रतिशतले बढ्दै गएको छ । सन् २०२३ मा ८० लाखले आन्तरिक यात्रा गरेकामा यो वर्ष ८५ लाख पुग्ने अनुमान नागरिक उड्डयन प्राधिकरणको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement