शेक्सपियरलाई सम्झिँदा...

वैशाख ११, २०८१ |हरहरि उपाध्याय
शेक्सपियरलाई सम्झिँदा...

काठमाडौं । विलियम शेक्सपियर साहित्यमा रुचि राख्ने जो कोहीका लागि एक सुपरिचित नाम हो । आफ्ना नाटक र कविताद्वारा विश्व साहित्यमा अमिट छाप छाड्न सफल बेलायती नाटककार तथा कवि शेक्सपियरको निधन आजकै दिन अर्थात् २३ अप्रिल सन् १६१६ मा भएको थियो ।

भनिन्छ उनको जन्म पनि २३ अप्रिलकै दिन भएको थियो । यद्यपि यसको स्पष्ट प्रमाण भने पाइन्न । उनको जन्म १५६४ को अप्रिल महिनामा भएको थियो भन्नेमा भने दुई मत पाइँदैन ।

‘यो विश्व एउटा रंगमञ्च हो, नरनारी सबै अभिनेता ।

सात अवस्था जीवनको, सात चरणको नाटकमा,

आ-आफ्नो खेल देखाएर हरेक मानिस यो संसारबाट बिदा हुन्छ ।’

सन् १५६४मा ब्रिटेनको स्ट्रेटफोर्ड अपन एभनमा जन्मिएका शेक्सपियरले मात्र ५२ वर्षको उमेरमा यो संसार छाडे । यद्यपि संसारले उनलाई युगौंयुगसम्म सम्झिरहनेछ भन्दा कुनै अतिशयोक्ति हुने छैन । शेक्सपियरले लेखेका कृतिहरुको विश्वका थुप्रै भाषामा अनुवाद गरिएका छन् भने उनको नाटकमा आधारित भएर थुप्रै चर्चित चलचित्रहरु बनेका छन् ।

आज पनि शेक्सपियरका नाटको जादु विश्वमा छाएको छ । विद्यालय र विश्वविद्यालयहरुमा उनका नाटक तथा लयात्मक १४ लाइनको गीति कविता ‘सोनेट’हरु पढाइन्छ । उनले करिब ३९ वटा नाटक, एक सय ५४ वटा सोनेटका साथै अन्य फुटकर कविता रचना गरेका छन् ।

शेक्सपियरका महत्त्वपूर्ण नाटकहरुमा ह्यामलेट, ओथेलो, किङ लियर, म्याकबेथ, जुलियस सिजर, रोमियो जुलिएट आदि रहेका छन् । आर्थिक कठिनाइका कारण उनले सानै उमेरमा विद्यालय छाडेर नाटकघरमा काम गर्न थालेका थिए । छिटै उनमा नाटकप्रति मोह बढ्यो र पछि आफैं नाटक लेख्न थाले ।

उनले नाटक र कवितामा लेखेका थुप्रै पंक्तिहरु उक्ति नै बनेका छन् । जीवन र मानव मनको सायद कुनै यस्तो अवस्था नहोला जसमाथि उनको कुनै अविस्मरणीय उक्ति नहोस् जीवनको गहिरो बुझाइ, मानव मनको सूक्ष्म पकड अन्य साहित्यकारमा विरलै पाइन्छ । उनले आफ्ना नाटकमार्फत यस्ता अनेकौं पात्रको सिर्जना गरे जो एक-अर्काभन्दा विल्कुलै भिन्न तर पूर्ण रुपमा विश्वसनीय, वास्तविक र जीवन्त छन् ।

यस्ता महान साहित्यकार शेक्सपियरप्रति हार्दिक नमन ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement