‘अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील छ’

फाल्गुन १८, २०८० |कान्तिपुर टीभी संवाददाता
‘अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील छ’

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको दाबी गरेका छन् ।

‘घुमौँ भरतपुर’ भन्ने नारासहित सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै उनले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको जनाए । ‘१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे-जति काम भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धिहरू हुन् ।’

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै दाहालले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६.९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चितवनमा २०२३ मा एक लाख ९० हजार ४५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको जनाए ।

‘भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैंडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराईचुलीबाट बागमती प्रदेशकै होचो भू-भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन गर्नेछ,’ दाहालले भने, ‘यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ ।’

विशिष्ट पाहुनाहरूबाट १५० वर्षदेखि चितवनका जंगलमा सिकार यात्रा गरेको इतिहास रहेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सर्वप्रथम जंगल सफारीको सुरुआत टाइगर टपले मेघौलीनजिक चितवनबाट भएको भएको उल्लेख गरे । उनले यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे ।

भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था सम्मिलित यस बृहत् अभियान भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

पछिल्लो सात वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको दाबी गरे ।

‘गौरवका आयोजनाहरू रिङरोड, सिक्स लेन रोड, तटबन्धन, सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला, विमानस्थल, नारायणी सी-बिच मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्नेछ,’ दाहालले भने, ‘देशको अर्थतन्त्र र विकास मोडलमा रोलमोडल कायम गर्नेछ । यसका निम्ति तपाईं भरतपुरवासी जनसमुदाय बधाइका पात्र हुनुहुन्छ ।’

यो पनि...

भरतपुर महानगर स्वास्थ्य क्षेत्रमा नयाँ हबका रूपमा विकास हुँदै छ : प्रधानमन्त्री


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement