गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : सुदूरपश्चिमको सहज जित

गण्डकी ९ विकेटले पराजित
वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : सुदूरपश्चिमको सहज जित

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले सहज जित हात पारेको छ । सुदूरपश्चिमले आज गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

मूलपानी मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि सुरुवातमा ब्याटिङ गरेको गण्डकीले राम्रो प्रदर्शन गर्न सकेन । उसले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । गण्डकीका रोशन गौतमले २८ तथा करन पंगेनी र दिनेश बुढा मगरले समान १५-१५ रन जोडे । कप्तान विपिन खत्रीले अविजित ३० रन बनाए । सुदूरपश्चिमका नरेन भट्ट, नारायण जोशी र शेर मल्लले २-२ विकेट लिए ।

जवाफमा ११८ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा केबल १ विकेट गुमाएर पूरा गर्यो । राजु रिजाल र अभिषेक पालले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै सुदूरपश्चिमको जितको आधार तय गरे । सर्वाधिक ४९ रन बनाएका अभिषेक रनआउट भए । वसन्त कार्की ३७ र राजु रिजाल २९ रनमा अविजित रहे । गण्डकीका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

जितसँगै दुई खेलमा दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको चौथो स्थानमा छ । चार खेलमा तीन खेल हारेको गण्डकी पाँचौं स्थानमा छ । प्रतियोगितामा भोलि कोशी र सुदूरपश्चिम तथा मधेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement