आईपीएलमा सनराइजर्स हैदराबादले आफ्नै उच्च रनको रेकर्ड तोड्यो

२ सय ८८ रनको लक्ष्य पच्छ्याएको रोयल च्यालेन्जर्स बैंग्लुरु २५ रनले पराजित
वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा सनराइजर्स हैदराबादले आफ्नै उच्च रनको रेकर्ड तोड्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न हाई स्कोरिङ खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लुरुलाई २५ रनले पराजित गरेको छ ।

कीर्तिमानले भरिपूर्ण खेलमा कुल ५ सय ४९ रन बन्यो । जुन टी-ट्वेन्टी इतिहासमै सबैभन्दा धेरै हो । यसअघि हैदराबाद र मुम्बईबीचको खेलमा दुवै टिमले कुल ५ सय २३ रन बनाएका थिए । हिजोको खेलमा हैदराबादले आईपीएल इसतिहासकै उच्च योगफलसमेत बनायो । २ सय ८७ रन बनाएको हैदराबादले आफ्नै १९ दिन पुरानो रेकर्ड तोडेको हो । उसले मार्च २७ मा मुम्बईविरुद्ध २ सय ७७ रन बनाएको थियो ।

चिन्नास्वामी स्टेडियममा रोयल बेंग्लुरुले टस जितेर बलिङ रोजेको थियो । त्यसपछि पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ८७ रन बनायो । हैदराबादका लागि ट्राभिस हेडले ४१ बलमा १ सय २ रनको शतकीय इनिङ्स खेले हेनरिक क्लासेनले ६७ रन बनाए ।

बेंग्लुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्लीले १ विकेट लिए । २२ छक्का प्रहार गरेको हैदराबादले आईपीएलको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा गर्यो । यसअघि २०१३ मा बेंग्लुरुले पुणे वारियर्सविरुद्ध २१ छक्का प्रहार गरेको थियो ।

२ सय ८८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको बेंग्लुरुले दोस्रो इनिङ्समा ७ विकेट गुमाएर २ सय ६२ रन बनायो । उसले जवाफी ब्याटिङ गर्ने क्रममा टी-ट्वेन्टी क्रिकेटमा सर्वाधिक रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

बेंग्लुरुका लागि दिनेश कार्तिकले ८३ रन बनाए । कप्तान फाप डु प्लेसिस ६२ रनमा आउट भए । हैदराबादका भुवनेश्वर कुमारले ४ विकेट लिए । जितसँगै हैदरावादले ६ खेलमा ८ अंक जोड्दै तालिकाको चौथो स्थानमा पुगेको छ । बेंग्लुरु भने ७ खेलमा १ जितसहित पुछारमा छ ।

आईपीएलमा आज दोस्रो स्थानको कोलकाता नाइट राइडर्सले लिग लिडर राजस्थान रोयल्सलाई स्वागत गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement