घोषणा भएका पुरस्कार खेलाडीले यस वर्ष पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
घोषणा भएका पुरस्कार खेलाडीले यस वर्ष पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरिएका पुरस्कार छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनसँग भेटेर खेलाडीले पाउने पुरस्कार वितरण गर्न अनुरोध गरेका थिए । भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुन यस वर्ष पुरस्कार वितरण गर्न प्रक्रिया सुरु गर्न सहमत भएको मन्त्री श्रेष्ठले बताए ।

‘राष्ट्रिय टोलीले बाहिर खेल्न जाँदा उच्च मनोवलका साथ जानुपर्छ,’ उनले भने,‘हामीले मन्त्रालयको जिम्मेवारी लिनुभन्दा पहिलेका कति पुरस्कार खेलाडीलाई दिन बाँकी रहेछ । घोषणा गरिदिएका पुरस्कार चाँडै गरिदिए पो खेलाडीलाई उत्साह हुन्छ । आज प्रधानमन्त्रीसँग र अर्थमन्त्रीसँग भेटेर खेलाडीहरूको पुरस्कार दिउँ भन्दा उहाँहरूले यसलाई अगाडि बढाउने कुरा गर्नुभयो ।’

यसभन्दा अगाडि खेलकुद मन्त्रालयले पुरस्कार वितरण गर्दा पनि अर्थमन्त्रालयले यस वर्षको बजेटमा दिन नसकिने भन्दै फर्काउने गरेकाले खेलाडीले पुरस्कार पाउन समस्या भएको उनको भनाइ छ ।

‘केही दिन अगाडि मैले मन्त्रालयमा कुरा गर्दा पहिला पनि मन्त्रालयले पुरस्कार दिन सिफारिस गरेर पठाएको रहेछ,’उनले भने, ‘तर अर्थ मन्त्रालयले यो वर्ष दिन सकिँदैन, अर्को वर्ष हेरौँला भनेर पठाएको रहेछ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement