एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी, अध्यक्ष ओलीको राजनीतिकसहित ६ प्रतिवेदन पेस

ओलीको आरोप- रास्वपा प्रियतावादी र कांग्रेस परम्परागत दक्षिणपन्थी शक्ति
वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी, अध्यक्ष ओलीको राजनीतिकसहित ६ प्रतिवेदन पेस

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा जारी छ ।

परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले जनताको आशा र भरोसालाई पार्टीले सम्बोधन गर्ने वाचा गर्नुभयो । निर्वाचनको परिणामले स्थिरता दिन नसकेको दाबी गर्दै ओलीले पार्टीले युवापुस्तामाझ भूमिका खेल्न नसकेको बताउनुभयो ।

बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रियतावादी शक्तिका रुपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिका रुपमा चर्चा गर्नुभएको छ । दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति विस्तार नयाँ विवेचनाको विषय भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

बैठकमा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गरी जम्मा ६ वटा प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गर्ने बताइएको छ ।

बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभञ्ज्याङ संकल्पयात्राको समीक्षासमेत गरिनेछ । सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने जनाइएको छ । भोलिसम्म चल्ने परिषद् बैठकमा दुई हजार चार सय ५४ जना सहभागी छन् ।

यो पनि...

सत्ता सहकार्यलाई दिगो, परिणाममुखी र सफल बनाउन एमाले केन्द्रित हुन्छ : ओली

अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार कांग्रेससँग छैन : ओली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement