देशभर दूरसञ्चार विस्तारमा सरकारको प्राथमिकता छ : सञ्चारमन्त्री शर्मा

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशभर दूरसञ्चार विस्तारमा सरकारको प्राथमिकता छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारका रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको बताउनुभएको छ ।

सूचना प्रविधि क्षेत्रमा आवश्यक लगानी आकर्षित गर्ने र यसलाई समृद्धिको ढोका खोल्ने महत्त्वपूर्ण आधारका रुपमा चाँडै स्थापित गर्ने उहाँको भनाइ छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले यस्तो जनाउनुभएको हो ।

सरकारले कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, वित्त, सहरी पूर्वाधारलगायत क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याए पनि सन्तोषजनक प्रगति हुन सकेको छैन ।

सरकारको उच्च प्राथमिकता- अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर स्थापना

यस्तै कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रिया सुरु भइसकेको बताउनुभयो । उहाँले कानुन बनाएर साइबर अपराध नियन्त्रण गरिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले संवेदनशील प्रणालीहरूमाथिको अनधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरुपयोग रोक्दै अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर स्थापनालाई सरकारले उच्च प्राथमिकता दिएको दाबी गर्नुभयो ।

कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.