अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार कांग्रेससँग छैन : ओली

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार कांग्रेससँग छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिनको माग गर्दै संसद् बैठकसमेत अवरुद्ध गरिरहेका बेला ओलीले त्यसो गर्ने नैतिक आधार कांग्रेससँग नभएको दाबी गर्नुभएको हो । ललितपुरको गोदावरीस्थित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै उहाँले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउने तयार नहुने कांग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधारसमेत नराख्ने बताउनुभयो ।

‘सहकारी क्षेत्रमा गम्भीर समस्या देखापरेका छन् । बचतकर्ताको अर्बौं रकम हिनामिना भएको छ । र यसको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्छ । यस विषयमा पार्टी स्पष्ट छ । तर निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउने तयार नहुने कांग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार समेत राख्दैन ।’

सत्ता सहकार्यलाई दिगो, परिणाममुखी र सफल बनाउन एमाले केन्द्रित हुन्छ : ओली

अध्यक्ष ओलीले निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका कुनै पनि विषयमा आफ्नो पार्टी प्रवेश गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले सत्ताबाट हटनु परेपछि कांग्रेस आक्रोशित, क्षुब्ध र हतास मनस्थितिमा देखिएको उहाँको भनाइ थियो ।

‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला कांग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ । यही हतासोले उसलाई प्रतिशोधको राजनीतिमा पुर्‍याएको छ । फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गर्‍यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरुलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्‍यो । तर कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरु नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ,’ ओलीले भन्नुभयो, ‘यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्क संगत आधार छैनन् ।’

त्यस अवसरमा अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको पनि जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement