सत्ता सहकार्यलाई दिगो, परिणाममुखी र सफल बनाउन एमाले केन्द्रित हुन्छ : ओली

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्ता सहकार्यलाई दिगो, परिणाममुखी र सफल बनाउन एमाले केन्द्रित हुन्छ : ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नयाँ सत्ता समीकरणलाई दिगो, परिणामुखी र सफल बनाउन एमालेले सम्पूर्ण सामर्थ्य केन्द्रित गर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावारीस्थित सनराइज हलमा शनिबार सुरु भएको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले यस्तो जनाउनु भएको हो । उहाँले जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका रहेको उल्लेख गर्दै त्यसको खण्डन पनि कुनै मन्तव्य वा वक्तव्यबाट नभई व्यवहारबाटै दिने बताउनुभयो ।

उहाँले जनतामा व्याप्त निराशा चिर्ने र देश अघि बढ्छ भन्ने विश्वास जगाउने गरी तीव्र रफ्तारका साथ काम गर्न सरकारलाई पनि सुझाउनुभयो । राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाइराख्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस खालको गतिविधि गरे आफैं फस्न सकिन्छ भन्ने तथ्यलाई हेक्का राख्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सचेत गराउनुभयो ।

‘सरकारले जनतामा व्याप्त निराशा चिर्ने र देश अगाडि बढ्छ भन्ने विश्वास जगाउने गरी तीव्र रफ्तारमा काम गर्नुपर्नेछ । विगतका कतिपय घटना, सन्दर्भ र अनुभवको आधारमा जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका छन् । यसको खण्डन कुनै औपचारिक मन्तव्य वा वक्तव्यबाट होइन, व्यवहारबाटै गरिनेछ । यसलाई विफल पार्न आरम्भदेखि नै विभिन्न तत्त्वहरु क्रियाशील रहेको देखिएकै छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाइराख्न सकिँदैन । त्यसो गर्न थालियो भने कुनै दिन आफैँद्वारा निर्मित व्यूहमा फस्न सकिन्छ भन्ने तथ्यलाई सबैले हेक्का राख्नुपर्छ । हाम्रो पार्टी यस सहकार्यलाई दिगो, परिणाममुखी, सफल बनाउन आफ्नो सम्पूर्ण सामर्थ्य केन्द्रित गर्नेछ ।

अध्यक्ष ओलीले एमालेले देश र जनताको हितका लागि नयाँ सत्ता समीकरण बनाएकाले त्यसमा पदीय लालचा नराखेको दाबीसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement