वर्तमान सत्ता गठबन्धनले माघ काट्दैन : महामन्त्री थापा

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 वर्तमान सत्ता गठबन्धनले माघ काट्दैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्ममा भत्किसक्ने दाबी गर्नुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  

अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने महामन्त्री थापाको दाबी छ । 'म कसम खाएर भन्दिनँ,' उहाँले भन्नुभयो, 'तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुका बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको ।'

चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको महामन्त्री थापाको भनाइ छ । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको महामन्त्री थापाको तर्क छ ।

'चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो,' उहाँले भन्नुभयो, 'चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो ।' महामन्त्री थापाले गठबन्धनले नेपालको राजनीतिलाई फोहोर बनाएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement