काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति नियन्त्रणमा लिएर तालाबन्दी गरेको नेपाल स्काउटको जग्गामा रातारात ताला खुलेको छ ।
नेपाली कांग्रेस सांसद दीपक खड्काले लैनचौरस्थित नेपाल स्काउटको जग्गा १५ वर्षदेखि कब्जामा लिएको विषयमा कान्तिपुर टेलिभिजनमा समाचार प्रसारण भएपछि काठमाडौं जिल्ला प्रशासनले बिहीबार मध्यरातमा जग्गा र त्यसमा बनेका संरचना नियन्त्रणमा लियो । प्रहरीसहित पुगेको टोलीले उक्त जग्गामा बनेको भवनमा सिलबन्दीसमेत गर्यो । तर, शुक्रबार सोही संरचना निर्बाध सञ्चालनमा रहेको देखियो ।
हामी दिउँसो १ बजे स्काउटको कार्यालय पुग्दा चहलपहल कायमै थियो । स्काउटको मुख्य कार्यालय परिसर सुनसान भए पनि भवन पछाडिको पार्किङ र ब्यांक्वेटमा भिडभाड थियो । नजिकै जाँदा थाहा भयो, विवाहको कार्यक्रम भइरहेको रहेछ । बिहीबार मध्यरातमा जिल्ला प्रशासन कार्यालयले तामझामका साथ गरेको तालाबन्दी केही घण्टा पनि नबित्दै कसरी खुल्यो ? प्रशासनले भने शुक्रबारका लागि निर्धारित कार्यक्रमलाई मानवीय नाताले एक दिनका लागि सञ्चालन गर्न दिएको तर्क गर्दै शनिबारदेखि ब्यांक्वेट र रेष्टुराँसमेत नचल्ने बताएको छ । स्काउटको मात्र नभएर जिल्लाभरिकै सार्वजनिक जग्गा खोजी गरिने काठमाडौं प्रशासनले जनाएको छ ।
स्काउटलाई उक्त जग्गा सरकारले सामाजिक प्रयोजनको उद्देश्यले उपलब्ध गराएको थियो । तर, यसविपरीत स्काउटले राजनीतिक स्वार्थमा जग्गा भाडामा लगायो । कांग्रेस सांसद दीपक खड्कालाई भाडामा दिनेबाहेक स्काउट आफैँले पनि पार्किङको जग्गा भाडामा लगाएको छ, जहाँ ब्यांक्वेट र रेष्टुराँबाहेक नेपाल ईन्भेष्टमेन्ट बैंक लगायतले भाडा तिरेर पार्किंङ गरिरहेका छन् । अहिले जे भइरहेको छ, स्काउट पनि दोषी रहेको सांसदहरुको भनाइ छ। जो भएपनि कानुनविपरीत काम कसैले गरेको भए कारबाहीको भागिदार हुने उनीहरूको भनाइ छ ।
खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका थिए । उनले आसपासको थप ९ रोपनी जग्गा समेत हडपेर दुरुपयोग गरिरहेका थिए भने भाडाबापतको ६ करोड ३० लाख पनि राजनीतिक आडमा तिरेका थिएनन् । दुई वर्षअघि उच्च अदालत पाटनले फिर्ता गर्नुपर्ने फैसला सुनाए पनि खड्काले अटेर गरी कब्जामै राखेको उक्त जग्गा र त्यसमा बनेको संरचना अब स्काउटको स्वामित्वमा आउने छ । तर, सँगै स्काउटले पनि अब राजनीतिक स्वार्थ र कमिसनको लोभमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने प्रवृत्ति सुधार्नुपर्नेछ ।
सम्बन्धित समाचार...
स्काउटको जग्गामा सांसद दीपक खड्काको रजाइँ, राजनीतिक नेतृत्व मूकदर्शक
कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि हडपेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा