देशका ३,९८५ स्थानमा डढेलो, कहाँ कति क्षति ?

वैशाख २०, २०८१ |जिल्ला ब्युरो
देशका ३,९८५ स्थानमा डढेलो, कहाँ कति क्षति ?

काठमाडौं । सर्लाही, रौतहट, पाल्पा, बागलुङ र पाल्पालगायत विभिन्न जिल्लामा आज भएका आगलागी र डढेलोबाट धनमालको ठूलो क्षति भएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका १, बाराउद्योरणमा आज दिउँसो आगलागी हुँदा ७२ वटा घर जलेका छन् । अहिले आगलागी नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रौतहटको माधवनारायण नगरपालिका ६, माधोपुरमा आगलागी हुँदा चारवटा घर जलेका छन् । आगलागीबाट १० लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

उता पाल्पाको रामपुर नगरपालिका ४ र ५ का र पूर्वखोला गाउँपालिका ६, हेक्लाङको जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जलेका छन् ।

यता काभ्रेको महाभारत गाउँपालिका ४, गोठडाँडाको वनमा लगेको आगो बस्तीमा पस्दा राना टोलका ३ घर जलेका छन् ।

बागलुङमा पनि जंगलमा लागेको डढेलो बस्तीमा सल्किँदा अमलाचौरस्थित डाँडाखेतमा दुई घर र गोठ जलेका छन् भने १४ वटा पशुचौपया मरेका छन् ।

एक महिनामा ३,९८५ स्थानमा डढेलो

डढेलो अनुगमन प्रणालीका अनुसार पछिल्लो एक महिनामा देशका विभिन्न तीन हजार ९८५ स्थानमा डढेलो लागेको छ ।

सरकारको केन्द्रीय तथ्यांकअनुसार ७२ जिल्लामा डढेलो लागेको हो । सबैभन्दा धेरै एक महिनामा सुर्खेत जिल्लाका २९२ डढेलो लागेको हो । दाङका २६७ स्थान, सल्यानको २४८ र कैलालीको २१२, बर्दियाको २१४ स्थानमा डढेलो लागेको हो ।

विशेषगरी राष्ट्रिय निकुञ्ज भएका क्षेत्रहरुमा डढेलोका घटना धेरै देखिएका हुन् । बाँकेको १६१ स्थान र डडेलधुराका १५७ स्थानमा डढेलोले क्षति पुर्‍याएको सरकारी तथ्यांक छ ।

डोटी, गुल्मी, कञ्चनपुर, नवलपुरलगायत जिल्लामा अत्याधिक डढेलो लागेको हो । पर्सामा १४४ , चितवनमा १६१ , कपिलवस्तुका ८१ स्थान पनि डढेलोले सखाप भएका छन् । खोटाङ, मकवानपुर, पाल्पा, प्युठान, स्याङ्जालगायत पहाडी जिल्लाका पनि धेरै स्थान डढेलोको चपेटामा परेको छ ।

यो पनि...

डढेलोबाट डोल्पामा ६ जनाको मृत्यु, ८,७३० हेक्टरमा क्षति