दैनिक १५ आन्दोलन र प्रदर्शन : प्रहरीको प्राथमिकता आन्दोलन कि सुरक्षा ?

वैशाख ३, २०८१ |रमेश धमला
दैनिक १५ आन्दोलन र प्रदर्शन : प्रहरीको प्राथमिकता आन्दोलन कि सुरक्षा ?

काठमाडौं । राजनीतिक उद्देश्यका लागि होस् वा न्यायका लागि, सडकमा पुगेर आफ्ना आवाज राख्न पाउने अधिकार सबैलाई छ । तर, हरेक माग पूरा गराउन सरकारलाई दबाब दिने थलो सडकलाई नै बनाउने प्रवृत्ति जस्तै भएको छ । नागरिकको दैनिक शान्ति सुरक्षा र अपराध नियन्त्रणमा परिचालित हुनुपर्ने प्रहरीको अधिकांश जनशक्ति र स्रोत साधन दैनिक १५ वटासम्म आन्दोलन र प्रदर्शनहरुमा परिचालन भइरहेको छ ।

चैत २७ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले जनप्रदर्शन भन्दै काठमाडौंमा आन्दोलन गर्‍यो । धार्मिक मुद्दासमेत जोडिएकाले सुरक्षा निकाय सतर्क थियो । आन्दोलनमा आइपर्न सक्ने जोखिम मध्यनजर गर्दै करिब १० हजार सुरक्षाकर्मी परिचालित भए । त्यही पनि झडप भयो, केही सुरक्षाकर्मी र केही प्रदर्शनकारी घाइते भए ।

त्यसको दुई दिनअघि पूर्वमन्त्रीसमेत रहिसकेका राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति क्रान्तिले गरेको आन्दोलनमा पनि झडप भयो । राजनीतिक उद्देश्यका लागि मात्रै होइन, न्यायका लागि सहकारीपीडितको संघर्ष चलिरहेको छ । उता सुनसरीमा धार्मिक सद्भाव भडि्कने परिस्थिति बनेपछि प्रशासनले कर्फ्यु नै जारी गर्‍यो ।

यो एक साता विभिन्न स्थानमा भएका आन्दोलनका केही उदाहरणहरु मात्रै हुन् यी । तर देशैभर दैनिक यस्ता कैयौं प्रदर्शन र आन्दोलन हुने गरेका छन् । जसमा प्रहरीको ठूलो जनशक्ति र स्रोत-साधनको खर्च भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत साउनयताको आठ महिनामा मात्रै देशैभर ३५ सय ७६ वटा प्रदर्शन, आन्दोलन र धर्ना भए । यो हिसाबले हरेक महिना ४४७ र दैनिक १५ वटा विभिन्न प्रकारका आन्दोलन तथा विरोधका कार्यक्रम हुने गरेका छन् । नागरिक कुनै पनि नाममा सबै कुरा माग्न सडकमै आउनुपर्ने बाध्यतामै किन पुगेका हुन् ? यसको खोजी भएको छैन । तर नागरिकको दैनिक सुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मेवारीभन्दा प्रहरीको अधिकांश जनशक्ति सडकमै खर्च भइरहेको छ ।

गत वर्षको चैतयता देशैभर ५८ सय ७६ बन्द हड्ताल र प्रदर्शनका लागि मात्रै १ लाख ४७ हजार प्रहरी परिचालनको नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले जनाए । आन्दोलन गर्न पाउने अधिकार भए पनि सबै कुरा राख्न सडकमै आउँदा त्यस्ता आन्दोनलमा सहभागी नहुनेहरुको सुरक्षा र सम्पत्ति जोगाउन प्रहरी जनशक्तिबाहेक स्रोत साधानको समेत उत्तिकै खर्च बढाएको हो ।

सबैभन्दा बढी आन्दोलन काठमाडौंमै केन्द्रित छन् । उपत्यकामा गत साउनयता एक हजार २१६ धर्ना र विरोध प्रदर्शन भए । आन्दोलनकारीका माग कति पूरा भए एकीन छैन । तर देशैभर एक वर्षमा एक हजार २९० प्रदर्शनकारी पक्राउ परे भने १९० जना घाइते हुँदा चार जनाको त ज्यानै गएको तथ्यांक छ ।

सुरक्षाकर्मीतर्फ ४४४ जना घाइते भए । एक हजार १६६ सेल अश्रुग्याास, भिड नियन्त्रणका लागि ३२४ राउन्ड हवाई फायर भएको छ । नियमित कामभन्दा आन्दोलनमै परिचालन हुँदा स्रोत साधनमाथि लगानी बढ्दै गएको छ । नागरिकले पाउने सेवामा समेत समस्या हुने गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापा बताउँछन् ।

शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउनु सबैको अधिकार हो । तर पीडितको समस्या समयमा समाधान नगर्ने र सम्बन्धित निकायहरुले न्यायको अनुभूति गराउन सकेको भए नागरिकले सडक रोज्नुपर्ने थिएन । आन्दोलन नियन्त्रणका लागि भइरहेको राज्यको स्रोतसमेत अपराध नियन्त्रणमा प्रयोग गर्न सकिने थियो ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement