इजरायल-गाजा युद्ध : मानवीयसँगै गहिरियो आर्थिक संकट

धरासायी बनेको गाजाको अर्थतन्त्र उकास्न ७० वर्ष लाग्ने संयुक्त राष्ट्रसंघको निष्कर्ष
वैशाख २७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल-गाजा युद्ध : मानवीयसँगै गहिरियो आर्थिक संकट

काठमाडौं । गत वर्ष अक्टोबर ७ यता इजरायल र गाजाबीच सुरु भएको द्वन्द्वले मानवीय संकटसँगै गाजाको आर्थिक अवस्थालाई पूर्ण रुपमा ध्वस्त पारेको छ ।

गाजामा इजरायलको आक्रमणले त्यहाँ कृषियोग्य जमिन र थुप्रै उपयुक्त कृषि पूर्वाधारलाई समेत तहस-नहस पारेको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टअनुसार गाजाको अर्थतन्त्र पुरानै लयमा फर्कन ७० वर्ष लाग्नेछ ।

व्यापार र विकासका लागि राष्ट्रसंघले गरेको सम्मेलनमा यदि आज युद्ध समाप्त भए गाजालाई कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) लाई सन् २०२२ कै लयमा फर्काउन करिब ७० वर्ष लाग्ने अनुमान गरिएको छ ।

केन्ट विश्व विद्यालयका एनालिस्ट हे यिनले इजरायलको कारबाहीमा करिब ५० प्रतिशत रुख बाली र ४२ प्रतिशत हरितगृहमा क्षति पुगेको बताएका छन् । केही हरितगृह ध्वस्त भए पनि त्यहाँ रहेका अन्य हरितगृहलाई युद्धका कारण सञ्चालन गर्न किसानले नसकेको कारण अझ उत्पादनमा क्षति पुग्ने अनुमान गरिएको छ । जसकारण त्यहाँको जीडीपी उकास्न दशकौँ लाग्ने बताइएको छ ।

कृषियोग्य जमिनमा अत्यधिक क्षति पुगेको कारण पनि त्यहाँ अनिकाल निम्तिने भन्दै त्यहाँ सक्दो सहायता पठाउन राष्ट्रसंघको विभिन्न निकायसहित अन्तर्राष्ट्रि समुदाय लागिपरेको छ ।

यस्तै युद्धका कारण ध्वस्त भएका संरचनाको भग्नावशेष हटाउन निकाल्न र इजरायलद्वारा छाडिएका हातहतियारका टुक्राहरु हटाउन १४ वर्ष लाग्ने अनुमान राष्ट्रसंघ यसअघि नै गरिसकेको छ ।

इजरायलको आक्रमणले गाजामा मृत्यु हुनेको संख्या झन्डै ३४ हजार पुगेको छ । त्यहाँ करिब ८५ प्रतिशत जनसंख्या विस्थापित भएको तथ्यांकले देखाएको छ ।