आबुधाबी र दुबईमा आँधीबेहरी, अधिकांश हवाई उडान रद्द

यूएईमा पुन: मेघगर्जनसहित भारी वर्षा
वैशाख २०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
आबुधाबी र दुबईमा आँधीबेहरी, अधिकांश हवाई उडान रद्द

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा आज पुन: मेघगर्जनसहित वर्षा भइरहेको छ ।

बिहीबार मध्यरातदेखि नै अबुधाबी र दुबईमा तीव्र आँधीबेहरी र चट्याङका साथै वर्षा भएको छ । वर्षाका कारण थुप्रै हवाई उडान रद्द गरिएका छन् । दुबईमा बस सेवा रोकिएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

मौसम विभागले अरेन्ज अलर्ट जारी गरेको छ । भोलिसम्म मौसमको अवस्था प्रतिकूल रहने सम्भावना रहेको जनाइको छ । सुरक्षा सुझावहरु जारी गरिएको छ । कम्पनीका कर्मचारीहरुलाई वर्क फ्रम होमको व्यवस्था मिलाउन भनिएको छ ।

यसैगरी विद्यालयहरुलाई पनि अनलाइनमार्फत पढाउन भनिएको छ । पार्क र समुद्री तटहरु बन्द गरिएका छन् ।

पानीले जलमग्न भएका कारण दुबईका केही सडक बन्द भएका छन् भने थुप्रै उडान रद्द गरिएका छन् ।

यूएईमा दुई साताअघि यस्तै भीषण वर्षा हुँदा एक जनाले ज्यान गुमाएका थिए । दुबईलगायत सहरका घर तथा व्यावसायिक संस्था जलमग्न भएका थिए ।

उक्त वर्षाका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न भएको थियो । त्यहाँबाट हुने सयौं उडान प्रभावित भएका थिए । वर्षा ७५ वर्षयताकै सबैभन्दा धेरै भएको र वर्षदिनमा पर्ने जति पानी एकैदिन परेको जनाइएको थियो । मरुभूमीय देश संयुक्त अरब इमिरेट्सको मौसम प्राय: तातो र सुक्खा हुने गर्छ । यहाँ पानी निकै कम पर्नेगर्छ ।