भारतको लोकसभा चुनावको दोस्रो चरण सम्पन्न, उत्तर प्रदेशमा ५३ प्रतिशत मात्र मतदान

वैशाख १४, २०८१ |राजेश मिश्र
भारतको लोकसभा चुनावको दोस्रो चरण सम्पन्न, उत्तर प्रदेशमा ५३ प्रतिशत मात्र मतदान

नयाँ दिल्ली । भारतमा शुक्रबार लोकसभा निर्वाचन अन्तर्गतको दोस्रो चरणको मतदान सम्पन्न भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी त्रिपुरा तथा मणिपुरमा ७६ प्रतिशतभन्दा बढी मतदान भएको छ भने सबैभन्दा कम उत्तर प्रदेशमा ५३ प्रतिशत मत खसेको छ । दोस्रो चरणमा १३ राज्यका ८८ लोकसभा सिटमा मतदान भएको हो ।

दोस्रो चरणमा कांग्रेस नेता राहुल गान्धी, शशी थरुर तथा भाजपा नेता तथा लोकसभा अध्यक्ष ओम बिरला, अभिनेत्री हेमा मालिनी, केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरजस्ता 'हेभीवेट' नेता चुनावी मैदानमा छन् । गान्धी आफ्नो पुरानै निर्वाचन क्षेत्र केरलको वायनाडबाट प्रतिस्पर्धामा छन् । केरलका २०, कर्नाटकका १४, राजस्थानका १३, महराष्ट्र र उत्तरप्रदेशका ८र८ सिटमा मतादान भएको हो । मध्यप्रदेशका ६, बिहार र आसामका ५-५, छत्तिसगढ र पश्चिम बंगालका ३-३ सिटमा दोस्रो चरणको मतदान भएको हो ।

त्यस्तै, मणिपुर, त्रिपुरा र जम्मु-काश्मीरका १-१ सिटमा मतदान भएको छ । यससँगै केरल, राजस्थान र त्रिपुरा राज्यका सबै क्षेत्रको मतदान पूरा भएको छ । 

पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, अन्डमान निकोबार, मिजोरम, नागाल्यान्ड, पोन्डुचेरी, सिक्किम र लक्षद्वीपको मतदान पूरा भएको थियो । शुक्रबार नेपालसँग सीमा जोडिएको पश्चिम बंगालको दार्जीलिङ र बिहारको किसनगन्ज निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ । गत अप्रिल १९ मा पहिलो चरणमा १ सय २ सिटमा निर्वाचन भएको थियो भने अन्तिम चरणअन्तर्गत १ जुनमा मतदान हुनेछ । मतगणना भने ४ जुनमा गरिनेछ ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।