भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदान

१३ राज्यका ८८ सिटका लागि चुनाव
कांग्रेस नेता राहुलको परीक्षा पनि आजै
वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ ।

आज दोस्रो चरणमा १२ राज्य र एक केन्द्र शासित प्रदेशका ८८ सिटका लागि मतदान हुँदै छ । स्थानीय समयअनुसार अहिले बिहान सात बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा एक हजार दुई सय दुई उम्मेदवार चुनावी मैदानमा छन् । 

कंग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेको केरलको वायनाड निर्वाचन क्षेत्रमा पनि आज नै मतदान हुँदै छ । केरलका सबै २० सिटका लागि आज नै मतदान हुँदै छ । यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ-आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच–पाँच, छत्तीसगढ र पश्चिम बंगालका तीन-तीन सिटका लागि मतदान हुनेछ ।

यस्तै मणिपुर, त्रिपुरा र जम्मु-कश्मीरका एक-एक सिटका लागि पनि आज नै मतदान हुनेछ । नेपाली भाषीहरूको बाहुल्य रहेको दार्जिलिङमा पनि आज नै मतदान हुँदै छ ।

वायानाडबाट चुनाव लडिरहेका चर्चित उम्मेदवार राहुल गान्धी माथि सबैको नजर हुनेछ । 

त्यस्तै उत्तर प्रदेशको मथुराबाट नायिका हेमा मालिनी पनि ह्याट्रिक गर्ने प्रयासमा आज मैदानमा उत्रिएकी छन् । त्यस्तै मेरठबाट रामायण सिरियलका राम अर्थात् अरुण गोविलको पनि आज नै परीक्षा छ । केरलाको तिरुअनन्तपुरमबाट कांग्रेस नेता शशि थरुर पनि आजको चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

मतदानलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ भने नेपालसँग जोडिएका राज्यहरूमा सीमा सिल गरिएको छ । अप्रिल १९ मा भएको पहिलो चरणको चुनावमा २१ राज्यको १ सय २ सिटका लागि मतदान भएको थियो । पहिलो चरणमा साढे ६५ प्रतिशत मतदान भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.