युक्रेन, इजरायल र ताइवानलाई सुरक्षा सहायता गर्न अमेरिकी संसदको तल्लो सदनद्वारा विधेयक पारित

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
युक्रेन, इजरायल र ताइवानलाई सुरक्षा सहायता गर्न अमेरिकी संसदको तल्लो सदनद्वारा विधेयक पारित

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले युक्रेन, इजरायल र ताइवानलाई सुरक्षा सहायताका लागि ९५ अर्ब डलरको सहायता प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । विपक्षी रिपलब्लिकन पार्टीका सांसदको समेत सहयोगमा विधेयक पारित भएको हो ।

अब यो विधेयक डेमोक्र्याट्सहरुको बाहुल्य रहेको माथिल्लो सदन सिनेटमा जानेछ भने त्यहाँबाट पारित भएपछि राष्ट्रपति जो बाइडनको हस्ताक्षरसँगै कानुन बन्नेछ । ९५ अर्ब डलरमध्ये युक्रेनलाई करिब ६१ अर्ब डलर सैन्य सहायता स्वरुप प्रदान गरिनेछ । त्यसमध्येको २३ अर्ब डलर हतियार र गोलाबारुद आपूर्तिका लागि हुनेछ । इजरायललाई २६ अर्ब डलर प्रदान गरिनेछ ।

त्यसमध्ये नौ अर्ब १० करोड डलर गाजामा मानवीय सहायताका लागि हुनेछ । यसबाहेक ८ अर्ब १२ करोड डलर इण्डोप्यासिफिक क्षेत्रका लागि हुने छ र यसबाट ताइवानले पनि ठूलो धनराशी पाउने छ । अमेरिकाबाट प्राप्त हुने यो सहायताले युद्धलाई बिस्तार हुनबाट रोक्न र हजारौंको जीवन बचाउन मद्दत पुग्ने युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको भनाइ छ ।

युक्रेनलाई प्रदान गरिने सुरक्षा सहायता रकम सम्बन्धमा भएको मतदानमा प्रस्तावको पक्षमा तीनसय ११ मत परेको थियो भने विपक्षमा एक सय १२ मत परेको थियो । उक्त विधेयक पारित भएपछि सभाकक्षमा तालीको गडगडाहड गुंजिएको थियो भने केही सांसदले सानो युक्रेनी झण्डा फहराएका थिए ।

एक सय १२ रिपब्लिकनले विधेयकको विपक्षमा मतदान गरिरहँदा एक सय एक जना रिपब्लिकन सांसदले भने विधेयकको पक्षमा मतदान गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement