रंगमञ्चको रंग, रुचाउने जमात बढ्यो

व्यावसायिक रुपमा अघि बढ्दै रंगमञ्च
चैत्र १४, २०८० |कृपाल गौतम
रंगमञ्चको रंग, रुचाउने जमात बढ्यो

काठमाडौं । रंगमञ्च नाटक कलाको समष्टिगत रुप हो । कुनै विषयवस्तुलाई सिर्जनात्मक शैलीमा रंगमञ्चमा रुपमा प्रस्तुत गरेर जीवन्त बनाउने गरिन्छ । पछिल्लो समय रंगमञ्चमा नेपाली युवापुस्ताको आकर्षण लोभलाग्दो गरी बढेको छ । नाटकमा अभिनय गर्न युवापुस्ता जति लालयित छन् त्यति नै हेर्न रुचाउनेको जमात पनि बढ्दो छ । त्यही कारण पछिल्लो समय रंगमञ्च व्यावसायिक रुपमा अघि बढ्दै छ भन्न सकिन्छ ।

युवाहरुले मनोरञ्जनका लागि आजभोलि थिएटर रोज्न थालेका छन् । थिएटरमा नयाँ नाटक मञ्चन हुँदै छ भन्ने थाहा पाउनसाथ नाटक हेर्ने योजना बनाउनेको संख्या बढ्दै छ । नाटकका टिकट साथीलाई उपहार दिने, साथीसंगी जम्मा भएर नाटक हेर्न जाने चलन बढेको छ । युवा पुस्ता मात्रै होइन पाका पुस्ताको रुचि पनि नाटकप्रति घटेको छैन । सामाजिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुमा बनाइएका नाटक र कलाकारको प्रत्यक्ष र जीवन्त अभिनयले दर्शकलाई रंगमञ्चसम्म तान्ने गरेको छ ।

नाटक निर्देशन र अभिनयमा खटिएकाहरु रंगमञ्च क्षेत्रमा टिक्न सकिन्छ भन्ने मनस्थितिमा पुग्दै गएका छन् । हिजोका दिनमा मेरो नाटक हेरिदिनुस् भनेर सित्तैमा नाटक देखाउनुपर्ने अवस्थाबाट रङ्गमञ्च माथि उठेको निर्देशक तथा कलाकार घिमिरे युवराजको भनाइ छ । ‘अहिले राम्रो नाटक मञ्चन भएमा दर्शकको कमी हुँदैन,’ उनले भने ।

अभिनयमा आफ्नो भविष्य खोज्नेहरु पनि रंगमञ्चमार्फत आफ्नो करिअर बनाइरहेका छन् । रंगमञ्चबाट उदाएका कलाकारले चलचित्र क्षेत्रमा अवसर पाउने मात्र होइन, सफलता पनि हात पारेका उदाहरण प्रसस्त छन् ।

रंगमञ्चप्रति बढ्दो आकर्षणका कारण थिएटरहरु खुल्ने क्रम पनि बढेको छ । काठमाडौं उपत्यकामा मात्रै आरोहण गुरुकुल, सर्वनाम, शिल्पी, मण्डला, कौसी थिएटर, कीर्तिपुर रंगमञ्चलगायत एक दर्जनभन्दा बढी थिएटर छन् । जसमा नाटकको नियमित प्रदर्शनका साथै नाट्यकला प्रशिक्षण हुन्छ ।

विराटनगर, बिर्तामोड, दमक, जनकपुर, बुटवलजस्ता सहरमा पनि थिएटर खुलेका छन् । रंगमञ्च संस्कृतिको विकासले गति लिँदै गए पनि थिएटर सञ्चालन र नाटक तयार गर्न लाग्ने खर्चको तुलनामा आम्दानी भने पर्याप्त नभएको रंगमञ्चकर्मीको अनुभव छ । दर्शकको आकर्षण बढ्दो क्रममा रहेकाले अब यो क्षेत्र विस्तारै व्यावसायिक बन्नेमा भने उनीहरु आशावादी देखिन्छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement