हुम्लाका विद्यार्थी पहिलो पटक बस चढेर विद्यालय

वैशाख २५, २०८१ |जनकबहादुर शाही
हुम्लाका विद्यार्थी पहिलो पटक बस चढेर विद्यालय

हुम्ला । पहिलो पटक हुम्लाका विद्यार्थी बस चढेर विद्यालय पुगेका छन् । 

हुम्ला सदरमुकाम सिमकोटदेखि दक्षिणी क्षेत्रमा पर्ने चंखेली गाउँपालिका- २ को देउलीमा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बसमा चढेर विद्यालय जान  थालेका छन् ।

चंखेली गाउँपालिकालाई भारतीय दूतावासको सहयोगमा उपलब्ध बस गाउँपालिकाले महादेव माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेसँगै आइतबारबाट सञ्चालनमा आएपछि विद्यार्थीहरू पहिलो पटक घरबाट बस चढेर विद्यालय पुगेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जनकारी दिनुभयो ।

बसले सेवा प्रदान गर्न थालेपछि अब विद्यार्थीले बस चढेबापत मासिक २५० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने बसको चालकको पारिश्रमिक गाउँपालिकाले र बसको मर्मत खर्चसँगै इन्धन विद्यालयले आफ्नो आन्तरिक श्रोत र विद्यार्थीबाट उठाएको भाडाबाट बेहोर्ने अध्यक्ष शाहीले बताउनु भयो ।

केही समय अगाडि भारतीय दूतावासले चंखेली गाउँपालिकालाई १ बस र १ एम्बुलेन्स सहयोग उपलब्ध गराएको थियो । काठमाडौंबाट बस र एम्बुलेन्स गाउँपालिकामा पुगेपछि अध्यक्ष शाहीले बस विद्यालयलाई र एम्बुलेन्स स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका थिए । सुरुमा सबै विद्यार्थीबाट बस भाडा उठाए पनि बिस्तारै गरिब तथा जेहनदार विद्यार्थीहरूलाई नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था गरिने अध्यक्ष शाहीले बताउनु भयो ।

विद्यालयबाट बस वडा नम्बर १ का तीनवटा बस्तीहरू रिमी, बोहराबाडा र भण्डारीबाडा गएर विद्यार्थी ओसार्ने कार्य सुरु भएको छ । अहिले पहिलो चरणमा साना ठूला गरी तीन वटा गाउँबाट ८४ जना विद्यार्थीहरूलाई बसले ओसार्ने गरेको छ । सडक सञ्जाल जोडिएका ती गाउँबाट दुई घण्टा पैदल हिँडेर आउने विद्यार्थीहरू बसबाट १५ मिनेटमा विद्यालय पुग्ने गरेको विद्यालयका लेखा प्रमुख गीर्वाणविक्रम शाहीले बताउनु भयो ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।