नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय तहबाट तलब लिने जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
स्थानीय शिक्षा नियमावलीमा नगरबाट सुविधा लिने कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने दायित्व हुनेछ भन्ने प्रावधान राखिएको छ ।
सोही अनुसार नगरपालिकाले यसलाई अभियानकै रुपमा सञ्चालन गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । पालिकाको सुविधा लिनेलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरेको हो । नगरमा ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् ।
नगरले आफुमातहतका सबै निकायका कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको नगरेको बारेमा जानकारी गराउन समेत निर्देशन दिएको छ ।