मधेसका सामुदायिक विद्यालयको अवस्था कमजोर, स्थानीय सरकार मूकदर्शक

वैशाख १८, २०८१ |आरएन विश्वास
मधेसका सामुदायिक विद्यालयको अवस्था कमजोर, स्थानीय सरकार मूकदर्शक

सप्तरी । सरकारी विद्यालयमा पठनपाठनको अवस्था कमजोर छ भन्ने कुराको खराब उदाहरण सप्तरीका ग्रामीण क्षेत्रका विद्यालय बनेका छन् । ती विद्यालयमा शिक्षक कर्मचारीको अनियमितता र मनपरी चल्छ भने बालबालिकालाई पढाउनु पर्ने मुख्य जिम्मेवारी त कहिल्यै पूरा भएको भेटिँदैन ।

सप्तरीको बलानबिहुल गाउँपालिकाको बेलहीस्थित यो आधारभूत विद्यालयमा ८ कक्षा सम्म पढाइ हुन्छ । ३ सय ६० जना विद्यार्थी रहेको यो विद्यालयमा दिनहुँ कक्षा आउने मुस्किलले ५० जना हुन्छन् । बालविकासदेखि कक्षा ३ सम्मको गरी ४ वटा कक्षाको पढाइ एउटै कोठामा हुन्छ भने कक्षा ४ र ५ को पनि एउटै कोठामा । रिपोर्टिङको क्रममा विद्यालय जाँदा कुनै पनि कक्षामा शिक्षक भेटिएनन् । कारण थियो मध्यान्तरपछि शिक्षकहरू आफ्नो काममा निस्किहाल्ने ।

विद्यार्थी टिकाउन ठूलो धनराशी खर्चेर विद्यालयमा दिवाखाजा कार्यक्रम लागु छ । तर अधिकांश विद्यालयमा यो कार्यक्रम सन्तोषजनक छैन भने खाजाको बजेटमा पनि अनियमितता भएको पाइएको छ । बालबालिकालाई पोषणयुक्त खाजा दिनुपर्नेमा सधैं मुरही चिउरा दिइन्छ ।

बालबालिकाको सिकाइ प्रणालीलाई मजबुत बनाउन र सूचना प्रविधिसँग जोड्न पछिल्लो एक वर्षमा सप्तरीका ३८ वटा सरकारी विद्यालयमा एक करोड बढी रकम खर्चिएर कम्प्यूटर ल्यापटप जडान गरिएको छ । तर शिक्षक नहुँदा वर्षभरिमा एक दिन पनि कम्प्युटर चलाउन नपाएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

विद्यालयको शैक्षिकस्तर सुधार्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र प्रदेश सरकारको बजेट पनि लगानी हुँदै आए पनि अवस्थामा कुनै परिवर्तन भएको छैन । विद्यार्थीहरूले सिकाइ प्रक्रियासँग गुनासै गुनासो गरिरहँदा विद्यालय प्रशासन भने आफू चोखो रहेको दाबी गर्छ ।

सप्तरीमा ४ सय ५ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये सहरी क्षेत्रका केही विद्यालयको अध्ययन-अध्यापन र व्यवस्थापनमा चित्त बुझाउने ठाउँ भए पनि गाउँका विद्यालयको अवस्था सुधार्ने जिम्मेवार निकाय स्थानीय सरकारहरू मूकदर्शक मात्र छन् । 


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।