काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपललाई मन्त्रालयमै बोलाएर निर्देशन दिएकी छन् । नयाँ शैक्षिक सत्रका लागि ती विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरुलाई मन्त्रालयमै बोलाएर भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।
‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु पर्यो भनेर दबाब दिइरहनुभएको छ । उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे,’ मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ।’
छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन् । ‘पहुँचका आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्,’ मन्त्री श्रेष्ठले भनिन्, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ।’ मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्रिन्सिपललाई अनुरोध गरिन् ।
छलफलमा सेन्ट जेभियर्सले चार वर्ष अघिदेखि नै गोलाप्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तर्क्रियाका आधारमा भर्ना लिइएको र बूढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए । मन्त्री श्रेष्ठले गोला प्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गरेकी थिइन् ।