कस्तो छ बुद्धको जन्मस्थल लुम्बिनी ? (भिडियो रिपोर्ट)

माघ २०, २०७९ |अमृता अनमोल
कस्तो छ बुद्धको जन्मस्थल लुम्बिनी ? (भिडियो रिपोर्ट)

लुम्बिनी । विश्वभरका बौद्धमार्गीको प्रमुख तीर्थस्थल हो बुद्ध जन्मस्थल लुम्बिनी । त्यससँगै लुम्बिनी बौद्ध दर्शनमा आस्था राख्ने सबैको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थलमा ७ सय ६८ हेक्टर अर्थात् तीन वर्गमाइल क्षेत्रलाई अहिले लुम्बिनी क्षेत्र कायम गरिएको छ । जुन, पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्रामका रुपमा विकास भएको छ । विहार क्षेत्रमा विभिन्न २६ देशका बौद्ध संस्कृति झल्कने ४२ विहार छन् । यसले लुम्बिनीलाई विश्वभरको बौद्ध कला संस्कृतिको संगमस्थल बनाएको छ ।

लुम्बिनीलाई प्राचीन कालकै झल्को दिनेगरी विकास गर्ने क्रममा पवित्र उद्यान क्षेत्रमा मायादेवी मन्दिर निर्माण गरी जन्मस्मारक राखिएको छ । नजिकै पुष्करिणी तलाउ र अशोक स्तम्भ छ । वरपर दीप प्रज्ज्वलन केन्द्र र र सुन्दर बगैँचा छन् ।

न्यु लुम्बिनी ग्राममा प्रशासनिक भवन र पर्यटक सूचना केन्द्र तथा होटलहरू छन् । शान्तिदीप र परिक्रमा पोखरी जोड्ने दुईवटा पोखरी छन् । योग अभ्यासका लागि २ वटा विपश्यना केन्द्र छन् । दक्षिणपूर्वमा रहेको नहरमा डुंगा चलाएर आगन्तुकलाई मनोरञ्जन दिने गरिएको छ ।

बौद्ध संस्कृतिसँग जोडिएका ऐतिहासिक र पुरातात्विक वस्तु राख्न संग्राहालय अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र र कार्यक्रम गर्न सभाहल छ । ठाउँठाउमा पञ्चशील, अष्टांगीक मार्गका स्मारक छन् भने लुम्बिनीबाहिर बौद्ध जीवनकथा देखाइन्छ । वौद्धविहारहरूमा बौद्ध ज्ञान र परम्परा सिकाइन्छ । बौद्ध शिक्षा अध्ययनका लागि खोलिएको विश्वविद्यालय पनि यही छ ।

बौद्धमार्गीहरु जीवनमा एकपटक बुद्ध जन्मस्थल पुगी पुण्य प्राप्त गर्ने अभिलाषा राख्छन् । बौद्धमार्गीसहित लुम्बिनीमा वार्षिक १२ लाख पर्यटक आउने गरेका छन् । लुम्बिनी आसपासमा पर्यटकलक्षित स्तरीय होटल खोल्ने,सेवालाई पर्यटनमैत्री बनाउने काम भइरहेको छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।