बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय चहलपहल बढ्यो

मंसिर १७, २०८० |कमल पन्थी
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय चहलपहल बढ्यो

बर्दिया । कोरोनाकालमा सुस्ताएको बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटकीय गतिविधि पुनर्जागृत भएको छ । प्राकृतिक बासस्थानमा बाघको अवलोकन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएको यो निकुञ्जमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक खचाखच छन् ।

कोरना कालमा बर्दिया राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक झन्डै शून्यमा झरेकोमा गत वर्षदेखि बढ्न थालेका छन् । बाघ, हात्ती, गैँडालगायतका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने यो निकुञ्जमा हिउँद लागेसँगै पर्यटकीय गतिविधि बढेको छ । अहिले यहाँ आन्तरिक पर्यटकसँगै सार्क मुलुकबाट आएका पर्यटक जंगल सफारी, साइट सिनिङ, कर्णाली नदीमा नौकाविहार, थारुबस्तीहरुको अवलोकनजस्ता गतिविधिमा रमाइरहेका छन् ।

जिम्बावेबाट आएका पर्यटक ब्रोड्स खैदरले यसअघि पनि यहाँ आएको तर यसपटक भने धेरै खुशी भएको अनुभूति साटे । उनले भने, ‘सन् १९९५ मा आउँदा हात्ती चढ्न पाएको थिइनँ, बाघ पनि देख्न पाएको थिइनँ । तर अहिले आउँदा धेरै खुशी छु ।’

साउनयता बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने विदेशी पर्यटकको संख्या १ हजार ५ सय २४ पुगेको छ । कात्तिकमा मात्रै यहाँ अमेरिका, नेदरल्यान्ड्स, दक्षिण अफ्रिकालगायतका मुलुकबाट ९ सय ४२ जना विदेशी पर्यटक पुगे । यसैगरी साउनयता स्वदेशी ४ हजार ३ सय २६ र सार्कबाट १ सय ८४ जना पर्यटक बर्दिया आएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दियामा शान्त वातावरण, जैविक विविधताले भरिपूर्णसँगै सहजै बाघ हेर्न सकिने भएकाले पर्यटक बढ्दै गएका छन् । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।