के तपाईलाई जंगलमा खुलेआम बाघ हेर्न मन छ ? (भिडियो रिपोर्ट)

चैत्र १५, २०७९ |कमल पन्थी
के तपाईलाई जंगलमा खुलेआम बाघ हेर्न मन छ ? (भिडियो रिपोर्ट)

बर्दिया । के तपाईलाई जंगलमा गएर खुलेआम बाघ हेर्न मन छ ? छ भने, बर्दिया राष्ट्रिय निकुञ्ज जानुहोस् । जंगलभरी जताततै देखिने बाघ हेर्न अहिले निकुञ्ज पुग्ने आन्तरिक र बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

फागुन, चैत र बैशाख महिना बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि उत्तम महिना मानिन्छ । यसको प्रमुख कारण बर्दिया निकुञ्जभित्र बाघ, गैँडा, हात्ती लगायतका वन्यजन्तु सहजै देख्न सकिन्छ । बाघ हेर्नका लागि यस आर्थिक वर्षको फागुन मसान्तसम्म १४ हजार २ सय ७२ पर्यटक बर्दिया भित्रिएका छन् ।

९ सय ६८ वर्ग किमी क्षेत्रफल ओगेटेको बर्दिया निकुञ्ज प्राकृतिक रुपमा निकै मनमोहक र शान्त वातावरणले पनि यहाँ आउने जो सुकैलाई लोभ्याउने गर्छ । विशेष गरी यहाँ पाटे बाघ सहजै हेर्न पाइने भएकाले देशविदेशका पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पछिल्लो गणनाअनुसार यहाँ १ सय २५ वटा बाघ छन् । निकुञ्जभित्र प्रवेश गरेका ९९ प्रतिशत पर्यटकले बाघ हेर्न सक्छन् ।

बाघ निकुञ्ज, खाता जैविक मार्ग र आसपासका मध्यवर्ती क्षेत्रमा सहजै हेर्न पाइने भएकाले पर्यटकका लागि बर्दिया आकर्षक गन्तव्य बन्दै गएको पर्यटन व्यवसायी बताउँछन् । बाघ बढेसँगै मानव र वन्यजन्तु द्वन्द्व बढेकाले यसलाई समयमा नियन्त्रण गर्न सकिएन भने यसले विकराल समस्या आउन सक्नेतर्फ सरोकारवाला निकाय गम्भीर बन्न जरुरी छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।