पर्यटकको रोजाइ बन्दै कास्कीको खुमैडाँडा

चैत्र १४, २०७९ |भुपाल गुरुङ
पर्यटकको रोजाइ बन्दै कास्कीको खुमैडाँडा

पोखरा । प्रकृतिको सुन्दरतासँग रमाउन दैनिक सयौँ पर्यटक कास्कीको खुमैडाँडा कोर्चाङ पुग्ने गरेका छन् । 

आँखै अगाडिको हिमशृङ्खला हेर्दै बाटोभरि फुलेका चिमाल र गुराँसको जंगलको यात्रापछि पुगिने यो ठाउँ पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पोखरादेखि करिब १३ किलोमिटर सवारी यात्रा पछि कास्कीको माछापुच्छ्रे गाउँपालिका १ सरिपाखा पुगिन्छ । त्यसपछि सुरु हुन्छ पदमार्गको यात्रा ।

अन्नपूर्ण, माछापुच्छ्रे हिमशृङखलाको सौन्दर्यलाई पृष्ठभुमिमा राख्दै जंगलमा फुलेका गुराँस र चिमालको स्वाद भर्दै हिलेखर्क, देउराली हुँदै करिब ६ घण्टाको हिँडाइपछि ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको खुमैंडाँडा पुग्न सकिन्छ । 

खुमैडाँडामा पहिलो दिनको थकाई बिसाए पछि दोस्रो दिन बिहानै सूर्योदयको दृश्य हेर्न करिब २ घण्टाको हिडाईपछि ३ हजार ६ सय ९० मिटर उचाइमा रहेको कोर्चाङमा पुगिन्छ । यहाँको बिहानी मनमोहक दृश्यले सच्चिकै धेरैको ध्यान तान्ने गर्छ । पछिल्लो समय पोखरादेखि छोटो दूरीमै हिमशृङ्खला दृश्यावलोकन सहित हिउँ खेल्ने उत्तम विकल्प कोर्चाङ बनेको छ ।

यो पदमार्गमा यतिबेला आन्तारिक पर्यटकको घुइचो छ । खुमैडाँडा र कोर्चाङबाट देखिने दृश्यहरूले पर्यटकलाई अकषिर्त गरेको छ । पदयात्रीको संख्या दिनप्रतिदिन बढ्दा पदयात्राका पर्यटन व्यवसायीलाई व्यवस्थापन गर्नै भ्याइ नभ्याई छ । अहिले दैनिक ३ सय जनासम्म पर्यटक यो पदमार्गमा पुग्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

यो पदमार्गको अन्तिम यात्रा कोर्चाङ मात्रै होइन । माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गत पिपर लेक पनि जान सकिन्छ भने खुमैडाँडा हुँदै कोर्चाङदेखि मेश्रम, नौ ढोके गुफा, अलाङ्गे छहरा र सैतीघट्टा हुँदै पोखरा फर्किन सकिन्छ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि भन्दै यसै साता माछापुच्छ्रे गाउँपालिकाको १६ औं कार्यपालिका बैठकसमेत खुमैडाँडामा बसेको छ ।

पोखराबाट नजिकैको दूरी र दुई दिनमै पुगेर हिउँ खेल्न मिल्ने छोटो दूरीको पोखरा-खुमैडाँडा-कोर्चाङ पदमार्गमा छोटो समयमै हजारौँ पदयात्रीले पाइला चालिसकेका छन् ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।