२०२३ को ३ महिनामा २५ सय पर्यटकले गरे अन्नपूर्ण सर्किटको पदयात्रा

चैत्र १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
२०२३ को ३ महिनामा २५ सय पर्यटकले गरे अन्नपूर्ण सर्किटको पदयात्रा

काठमाडौं । सन् २०२३ को पहिलो तीन महिनामा अन्नपूर्ण सर्किट पदयात्रामा २ हजार ४७५ विदेशी पर्यटक सहभागी भएका छन् ।

पर्यटकमा १ हजार ६ सय ७८ पुरुष र ७ सय ९७ महिला रहेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एस्याप) टुरिस्ट चेक प्वाइन्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङलाई उद्धृत गर्दै पर्यटन बोर्डले जनाएको छ ।

एसीएपी क्षेत्रमा दैनिक ४० देखि ५० पर्यटकको सहभागिता भएपनि यो संख्या कम रहेको भन्दै पर्यटन व्यवसायी चिन्तित देखिएका छन् । कोभिड–१९ को महामारी सकिएपछि पनि पर्यटन व्यवसायले गति लिन सकेको छैन ।

अघिल्लो वर्ष अर्थात २०२२ मा अन्नपूर्ण सर्किट पदयात्रामा १५ हजार नौ सय विदेशी पर्यटकको सहभागिता थियो । जसमा १० हजार ३ सय ६४ पुरुष र ५ हजार ५३६ महिला थिए । सन् २०२१ मा १ हजार ५६२ पुरुष र ७११ महिलासहित २ हजार २७३ पर्यटकहरु सो स्थानमा पुगेका थिए ।

त्यसैगरी २०२० मा १ हजार ९ सय ७६ पर्यटकको सहभागिता भएको थियो भने २०१९ मा ३६ हजार ६ सय ४७ पर्यटक थिए ।

अन्नपूर्ण सर्किट पदयात्रामा सहभागी हुने पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक चीन र भारतका साथै जापान, अस्ट्रेलिया, बेलायतका छन् ।

बेसी सहरबाट सुरु हुने अन्नपूर्ण सर्किट पदयात्रा लमजुङले मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्लालाई पनि जोड्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.