सोलुखुम्बुको खुम्जुङ ‘ग्रिन भ्याली’ : पर्यावरण संरक्षणमा एकताबद्ध (भिडियो रिपोर्ट)

चैत्र ७, २०७९ |भानुभक्त निरौला
सोलुखुम्बुको खुम्जुङ ‘ग्रिन भ्याली’ : पर्यावरण संरक्षणमा एकताबद्ध (भिडियो रिपोर्ट)

सोलुखुम्बु । हिमाल हेर्न आउने विश्वभरिका मान्छेको मन र क्यामेरा दुवैमा अनिवार्य कैद हुने गाउँ हो - सोलुखुम्बुको खुम्जुङ ग्रिन भ्याली ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेकै वडा अर्थात खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ मा रहेको यस हरित उपत्यकाको विशेषता के हो भने यहाँका आदिवासी शेर्पा समुदायले गाउँभरका सबै घरको छानोमा हरियो रंग लगाएका छन् ।

गोकियो क्षेत्र हुँदै सगरमाथाको आधार शिविर जाने पर्यटक खुम्जुङ भएरै जाने गर्छन् । समुद्री सतहबाट ३ हजार ८ सय ५० मिटरको उचाईमा रहेको यस गाउँबाट धेरै हिमालहरु नजिकबाट नियाल्न सकिन्छ । खुम्जुङका १ सय ८० घर र खुन्दे गाउँका करिब १ सय घरमा हरियो बाहेक अन्य कुनै रंगका जस्ता र छानो देख्न पाइँदैन । १५ वर्ष अगाडि स्थानीय अगुवा र खुम्जुङ युवा क्लबको अग्रसरतामा ग्रीन भ्याली अभियान सुरु गरिएको हो।

यस क्षेत्रमा हरियो बोटबिरुवाहरु हुर्किन नसक्ने भएकाले पनि गाउँलाई हरियाली बनाउन जस्तापातामा एकरुपता स्थानीयले रोजेका हुन् । गाउँ नै हरियो भएपछि पर्यावरण संरक्षणमा पनि टेवा पुगेको छ ।

स्थानीयलाई हरित उपत्यकाकै कारण व्यापार प्रबर्द्धनमा पनि ठूलो सहयोग पुगेको छ । हरित गाउँ हेर्नकै लागि विदेशी पर्यटक यहाँ पुग्ने भएकाले खुम्जुङमा होटल व्यवसाय पनि फस्टाएको छ । सुरुमा होमस्टेको अवधारणामा विदेशी पाहुना राख्दै आएको खुम्जुङबासीले अहिले दर्जनौँ व्यवसायिक होटल सञ्चालनमा ल्याएका छन् ।

नयाँ बन्ने घरले पनि अनिवार्य हरियोजस्ता प्रयोग गर्ने नियम बनाइएको छ । यो नियमविपरीत अन्य रंगको छाना प्रयोग गर्नेलाई मध्यवर्ती क्षेत्र विकास समितिको व्यवस्थापनमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रको घाँस-दाउरा काट्न निषेध गरिएको छ । यस्तै, स्थानीय पनि उत्साहित रुपमा एकताबद्ध भएर हरियोजस्ता प्रयोग गर्ने अभियानमा लागेका छन् । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टीभीका सोलुखुम्बु संवाददाता हुन् ।