पर्यटन प्याकेज अभाव, प्रवर्द्धनमा सरकारको उदासीनताले पर्यटकको आगमन बढेन (रिपोर्ट)

फाल्गुन १८, २०७९ |माधव अर्याल |भुवन पाण्डे
पर्यटन प्याकेज अभाव, प्रवर्द्धनमा सरकारको उदासीनताले पर्यटकको आगमन बढेन (रिपोर्ट)

पाल्पा । आन्तरिक तथा बाह्य मुलुकका पर्यटकका लागि प्रचुर सम्भावना भएको जिल्ला हो-पाल्पा । धार्मिक, ऐतिहासिक पुरातात्विक स्थलसँगै प्राकृतिक सम्पदाहरुले यहाँको आकर्षण बढाएको छ । पछिल्लो समय पर्यटकलाई आकर्षित गर्न तारे होटल तथा अन्य पर्यटकीय गतिविधि चलायमान छन् । तर, पर्यटन प्याकेजको अभाव, प्रवर्द्धनमा सरकारको उदासीनता जस्ता कारणले पर्यटकको आगमन बढ्न सकेको छैन । 

रुपन्देहीको बेलहिया नाका भएर भारतीय तथा तेस्रो मुलुकका गरी वार्षिक चार लाख बढी पर्यटक नेपाल प्रवेश गर्छन् । भारतीय पर्यटन व्यवसायीको प्याकेजमा नेपाल आउने अधिकांश पर्यटक लुम्बिनी घुमेर फर्किन्छन् । त्यस्ता पर्यटकलाई प्याकेज बनाएर अन्य पर्यटकीय गन्तव्यमा पुर्‍याउन नेपालका पर्यटन व्यवसायी चुकेका छन् । पर्यटन प्याकेज बनाए पनि कारोबारका लागि अन्तराष्ट्रिय अनलाइन गेट वे नेपालमा छैन । नेपाल घुम्न आउने विदेशी पर्यटक अन्य मुलुकका एजेन्टको माध्यमबाट आउनु पर्ने बाध्यता छ ।

लुम्बिनी घुम्न आउने आन्तरिक तथा बाहृय मुलुकका पर्यटकलाई पाल्पा जिल्लाका पर्यटकीय गन्तव्य स्थलसँग परिचित गराउन यहाँका स्थानीय सरकार र पर्यटन व्यवसायी प्रवर्द्धनमा जुटेका छन् । विशेष छुटसहितको पर्यटन प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्ने उनीहरुको दाबी छ ।

बुटवलदेखि ५० किलोमिटरको दूरीमा तानसेन छ । तराईको उखरमाउलो गर्मी छल्दै प्राकृतिक सौन्दर्यतासँग रमाउन पाल्पालाई एक रमणीय गन्तव्यस्थल बनाउन सकिन्छ । मनमोहक श्रीनगर, ऐतिहासिक महत्व बोकेका रानीमहल र पाल्पा दरबार, धार्मिक तथा सांस्कृतिक विशेषता रहेको भैरव, ऋषिकेश तथा भगवती मन्दिर लगायतका दर्जन बढी पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । गन्तव्यसम्म पुग्न सहज सडक सञ्जाल, पर्यटकीयस्थलहरुको साजसज्जा, पर्यटकलाई भुलाउन विभिन्न पर्यटकीय क्रियाकलाप लगायतका गतिविधि तयार पारेर पाल्पालाई पर्यटकको गन्तव्य बनाउन आवश्यक छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।

Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।