पर्वत । पर्यटकीय गतिविधि बढाउन गण्डकी प्रदेश सरकारले घरबास (होमस्टे) मा ४८ करोड रुपैयाँ लगानी गर्यो । पर्वतमा मात्र होमस्टेको सहयोगका लागि प्रदेश सरकारले पहिलो वर्षमै चार करोड ८० लाख रुपयाँ वितरण गरेको थियो । तर, अधिकांश होमस्टे अनुदान लिएकै वर्ष पाहुना नआएको भन्दै बन्द भएका छन् ।
पर्वतको कुस्मा नगरपालिका ७ खरेहाको कुस्मा सामुदायिक होमस्टेले १० लाख रुपैयाँ अनुदान लिए पनि बन्द भयो । आव ०७५/७६ मा पर्वतका ४८ होमस्टेलाई प्रदेश सरकारले १० लाख रुपैयाँका दरले अनुदान दिएको थियो । अनुदान लिएका धेरैजसो होमस्टे बन्द भइसकेको कुस्मा सामुदायिक होमस्टे पर्वतका संस्थापक अध्यक्ष डिल्लीराम शर्मा बताउँछन् ।
कतिपय होमस्टेले सरकारबाट लिएको अनुदानको दुरुपयोगसमेत गरेका छन् । फलेबास, महाशिला, बिहादी र मोदी गाउँपालिकाका केही होमस्टेले प्रदेश सरकारबाट लिएको अनुदान अनुत्पादक क्षेत्रमा लगानी गरेको आरोप लागेको छ । तर पनि होमस्टेको अनुगमन गर्न प्रदेश सरकारले चासो नदेखाएको छैन ।
त्यसो त पर्वतमा मात्र नभई गण्डकी प्रदेशका ११ वटै जिल्लाका होमस्टेको अवस्था कमजोर बनेको छ । प्रदेश सरकारको होमस्टे प्रवर्द्धन गर्ने नीति असफल जस्तै भएको छ । ३२४ होमस्टेमा सरकारले गरेको ४८ करोड लगानीसमेत बालुवामा पानीसरह भएको छ ।