धनकुटा । मध्यपहाडी राजमार्ग लक्षित दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कको पूर्वीखण्ड सञ्चालनमा आएको छ ।
नेपाल टेलिकमको ६८३ किलोमिटर लामो उच्च गतिको नेटवर्क महामार्ग (सुपर हाइवे) सञ्चालनमा आएको हो । नेटवर्कको पूर्वीखण्डले तेह्रथुमको म्याङलुङ, फिदिम, इलाम, झापाको बिर्तामोड, चन्द्रगढी, सुनसरीको इटहरी, धरान हुँदै धनकुटालाई समेट्ने नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर सुमन आचार्यले जानकारी दिए ।
ग्रामीण दूरसञ्चार विकास कोषको चार अर्ब ८७ करोड रुपैयाँ लागतमा उक्त महामार्ग तयार पारिएको हो । अब नेपाल टेलिकमबाहेक निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले समेत यो मार्ग प्रयोग गरी उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सक्नेछन् ।