अनलाइनका माध्यमबाट साइबरसम्बन्धी घटनाको जानकारी दिन आह्वान

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
अनलाइनका माध्यमबाट साइबरसम्बन्धी घटनाको जानकारी दिन आह्वान

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रले अनलाइनका माध्यमबाट साइबरसम्बन्धी घटनाको जानकारी दिन आह्वान गरेको छ । सरकारी सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षाका लागि सञ्चार मन्त्रालयमा यो केन्द्र सञ्चालित छ ।

सूचना प्रविधिको विकास र बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिमको पहिचान गर्न र त्यसबाट हुने दुष्परिणाम रोक्न विद्युतीय कारोबार ऐनअन्तर्गत यो केन्द्र बनाइएको हो । सरकारी निकायको सूचना प्रविधिमा आधारित प्रणाली, नेटवर्क, तथ्यांक र प्रोग्रामलाई हानि पुर्‍याउने गतिविधि भएमा तुरुन्तै सहायता गर्न केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत रहेको सरकारी डाटा सेन्टरलाई केन्द्रले अनुगमन गर्छ । केन्द्रको वेबसाइटबाटै वेबसाइटको सुरक्षा अवस्था बुझ्न, साइबर आक्रमणसम्बन्धी कुनै घटनाको जानकारी दिन सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको भनाइ छ ।

केन्द्रले सरकारी सूचना प्रविधि प्रणालीमा साइबर सुरक्षा अवस्थाको चौबीसै घण्टा अनुगमन गर्छ । महत्त्वपूर्ण जिम्मेवारी बोकेको केन्द्रमा जनशक्तिको भने अभाव छ । सञ्चार मन्त्रालयका दुई र राष्ट्रिय सूचना प्रविधि केन्द्र दुई इन्जिनियर खटिएका छन् । दत्तका अनुसार तीनजना सुरक्षा विश्लेषकलाई परामर्शदाताका रुपमा राखिएको छ ।

मानवीय तथा प्राकृतिक कारणले सूचना प्रविधि प्रणाली अवरुद्ध भएमा त्यसलाई छिटो सञ्चालनमा ल्याउन केन्द्रले सहयोग गर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.