
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ को बहु प्रतिक्षित र हाइभोल्टेज खेलमा आइतबार भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
खेल कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा साँझ सवा ७ बजे सुरू हुनेछ । यो खेल जित्ने टोलीले सुपर ८ मा स्थान सुरक्षित गर्नेछ । राजनीतिक कारण एसिया कपको पछिल्लो भेटमा हात नमिलाएको प्रसंगपछि यस खेलमा खेलाडीहरूको व्यवहार पनि चासोको विषय बन्नेछ ।
मैदानभित्रको प्रतिस्पर्धासँगै खेल भावना कस्तो देखिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित रहनेछ । साथै पाकिस्तान सरकारले बंगलादेश क्रिकेट बोर्डको समर्थन गर्ने भन्दै भारतविरूद्धको खेल बहिस्कार गर्ने घोषणा गरेको थियो । तर आईसीसीसँगको पटक पटकको छलफलपछि पाकिस्तानले निर्णय परिवर्तन गर्दै भारतसँग खेल्न तयार भएको हो ।
भारत २००७ र २०२४ गरी दुई पटक टी-२० विश्वकप च्याम्पियन भइसकेको छ । उसले २००७ को फाइनलमा पाकिस्तानलाई हराउँदै पहिलो उपाधि जितेको थियो । पाकिस्तानले २००९ मा उपाधि जितेको थियो भने २००७ र २०२२ मा उपविजेता बनेको थियो ।
भारत टी-२० विश्वकपमा लगातार १० खेल जित्ने किर्तिमानसहित मैदान उत्रदैछ । उसले अघिल्लो संस्करणको उपाधि जित्ने क्रममा लगातार ८ खेल जितेको थियो भने यसपटक लगातार दुई खेल जितिसकेको छ । यस्तै, विश्वकपमा भारत-पाकिस्तानबीच भएका ८ मध्ये ७ खेलमा भारत विजयी भएको छ ।
समग्र टी-२० अन्तर्राष्ट्रियमा पनि भारतले १६ मध्ये १३ खेल जितेको छ । तर यसपटक पाकिस्तान निकै बलियो टोली देखिएको छ । साहिब-जादा फरहानले राम्रो सुरूवात दिलाइरहेका छन् । स्पिन विभागमा अबरार अहमद, उस्मान तारिक र मोहम्मद नवाज प्रभावशाली छन् । तर मध्यक्रमका ब्याटरहरूले निरन्तर ठूलो इनिङ्स खेल्न नसक्नु टोलीको कमजोरी बनेको छ ।
भारतको मुख्य शक्ति आक्रामक ब्याटिङ हो । ईशान किशन, हार्दिक पाण्डेया र कप्तान सूर्यकुमार यादव उत्कृष्ट लयमा छन् । बलिङतर्फ जसप्रित बुमराह, कुलदीप यादव, वरुण चक्रवर्ती र अक्षर पटेल प्रभावशाली देखिएका छन् । यद्यपि स्पिन आक्रमणविरूद्ध भारतले अघिल्ला दुई खेलमा समस्या भोगेको थियो ।
कोलम्बोको पिच स्पिनमैत्री हुने भएकाले सावधानी आवश्यक हुनेछ । बिरामी भएछि अघिल्लो खेल गुमाएका अभिषेक शर्मा आज उपलब्ध हुने अनुमान गरिएको छ । कोलम्बोमा वर्षा भइरहे पनि खेल समयतिर वर्षाको सम्भावना करिब १० प्रतिशत मात्रै रहेको जनाइएको छ ।
समूह 'ए'मा समान ४-४ अंक रहे पनि नेट रन रेटमा अघि रहेको भारत शीर्ष स्थानमा छ । दुवै टोली लगातार तेस्रो जित हात पार्दै सुपर ८ मा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिने छन् ।