आईसीसी महिला विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

२५ वर्षपछि महिला ओडीआई विश्वकपले नयाँ च्याम्पियन पाउने
कार्तिक १६, २०८२ |खेल ब्युरो
आईसीसी महिला विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी महिला विश्वकप-२०२५ को फाइनलमा आइतबार भारत र दक्षिण अफ्रिका आमने-सामने हुँदैछन् । 

दुबै टोलीले अहिलेसम्म ट्रफी जित्न सकेका छैनन् । खेल मुम्बईको डीवाई पाटिल स्टेडियममा दिउँसो सवा ३ बजे सुरू हुनेछ । २५ वर्षपछि ओडीआई विश्वकपले आइतबार नयाँ च्याम्पियन पाउने छ । आईसीसी महिला विश्वकपको इतिहासमै पहिलो पटक इंग्ल्यान्ड वा अष्ट्रेलियाबिना फाइनल खेल हुन लागेको हो । 

भारतले यसअघि २००५ र २०१७ मा फाइनल खेल्दा क्रमशः अष्ट्रेलिया र इंग्ल्यान्डसँग हार भोगेको थियो । दक्षिण अफ्रिका भने पहिलो पटक फाइनल खेल्न लागेको हो । सेमिफाइनलमा भारतले ७ पटकको च्याम्पियन अष्ट्रेलियालाई ५ विकेटले हराएको थियो भने दक्षिण अफ्रिकाले ४ पटकको विजेता इंग्ल्यान्डलाई हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको थियो ।

समूह चरणमा दक्षिण अफ्रिकाले ७ खेलमध्ये ५ जित र २ हारसहित १० अंक बटुलेर तेस्रो स्थान हासिल गर्‍यो । सहआयोजक भारतले ७ खेलमा ३ जित, ३ हार र १ बेनतिजासहित ७ अंक बटुलेर चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो ।स्मृति मन्दाना, जेमिमा रोड्रिग्ज, हरमनप्रीत कौर र दीप्ति शर्माले भारतीय टिमलाई बलियो बनाएका छन् । 

दक्षिण अफ्रिकाको टोलीमा कप्तान लौरा वोल्वार्ट र अलराउन्डर मारिजान क्याप मुख्य खेलाडी हुन् ।