तेस्राे ताप्लेजुङ गोल्डकप प्रतियोगिता साउन २४ देखि ३१ गतेसम्म हुने

श्रावण ४, २०८२ |खेल ब्युरो
तेस्राे ताप्लेजुङ गोल्डकप प्रतियोगिता साउन २४ देखि ३१ गतेसम्म हुने

ताप्लेजुङ । लाखे जात्रा पर्वको अवसरमा खेलाइने तेस्राे ताप्लेजुङ गोेल्डकप प्रतियोगिता यस वर्ष साउन २४ देखि ३१ गतेसम्म ताप्लेजुङ सदरमुकाम फुङलिङको भानुजन माविको मैदानमा हुने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस वर्षको प्रतियोगितामा आयोजकको तर्फवाट ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब सहित पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लबसहितका मधेश प्रदेशबाट सिराहाको सलहेस युवा क्लब, बागमतीबाट काठमाडौंको चर्च व्वाईज, गण्डकीबाट पोखराको सहारा क्लब र भारत सिलीगुढिको लेजण्ड फुटबल एकेडेमी सहभागी हुने आयोजक लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयाे ।

विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रूपैयाँ  सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, सर्वार्धिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदयमान, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई १५ हजारका दरले पुरस्कृत गरिने सचिव टिकेन्द्र नेपाली वताउ“छन् ।

हरेक दिनको म्यान अफ दी म्याच बन्नेले ७ हजारका दरले पुरस्कार प्राप्त गर्नेछ ।