नेपाललाई लगातार दोस्रो पटक आईसीसी 'डिजिटल फ्यान इनगेजमेन्ट अफ दी इयर अवार्ड'

इन्टरनेट र मैदानमा राम्रो उपस्थिति रहेको भन्दै नेपाली समर्थकको प्रशंसा
श्रावण ४, २०८२ |खेल ब्युरो
नेपाललाई लगातार दोस्रो पटक आईसीसी 'डिजिटल फ्यान इनगेजमेन्ट अफ दी इयर अवार्ड'

काठमाडौं । नेपालले लगातार दोस्रो पटक आईसीसी 'डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड' प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ-क्यानलाई आइसीसी ग्लोबल अवार्ड्सअन्तर्गत 'डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड' प्रदान गरेको हो । 

सिंगापुरमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीका अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई अवार्ड प्रदान गरेका हुन् । क्यानले गत वर्ष पनि यो अवार्ड जितेको थियो । 

नेपाल एसिया क्षेत्रको विजेता बनेर ग्लोबल अवार्डका लागि छनोटमा परेको थियो । अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र पूर्वी एसिया प्रशान्तबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए ।

आईसीसीले नेपाली फ्यानहरू इन्टरनेटमा निकै सक्रिय भएको र मैदानमा पनि नेपाली समर्थकहरूको राम्रो उपस्थिति रहने गरेको भन्दै प्रशंसा गर्दै आएको छ ।

सम्मेलनमा, क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले नेपालको क्रिकेट यात्रा र भविष्यबारेको प्रस्तुति दिएका थिए । उनले महिला क्रिकेटलाई प्राथमिकता, संरचनागत सुधार, टेस्ट टोली बन्ने लक्ष्य र नेपाल प्रिमियर लिगको सफलताको चर्चा गरेका थिए ।