काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया क्षेत्र छनोटमा आज बहराइनसँग खेल्ने तालिका छ। थाइल्यान्डमा हुने खेलमा नेपालले बहराइनको सामना गर्न लागेको हो।
नेपाल र बहराइनको खेल बिहान सवा ८ बजे सुरू हुनेछ। नेपाल र बहराइनबीच यसअघि दुई खेल भएका छन। ती दुवै खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएको छ।
नेपालले एक खेल १० विकेट र एक खेल ८ विकेटले जितेको इतिहास छ। त्यसैले आज पनि यो खेलबाट नेपाललाई उच्च रन रेट बनाउने अवसर हुनेछ। एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँड्नु परेको थियो।
वर्षाको कारण खेल नभएपछि अंक बाँड्नु परेको हो। समूह सीमा नेपाल र हङकङको समान एक-एक अंक छ भने बहराइनको यो पहिलो खेल हो। यस्तै, आज हुने अर्को खेलमा थाइल्यान्डले भुटानको सामना गर्नेछ।
कुल नौ देश सहभागी छनोटमा हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको शीर्ष टोलीले 'सुपर थ्री' चरणमा स्थान बनाउनेछ । सुपर थ्रीमा पुगेका तीन टोलीमध्ये शीर्ष दुई टोलीले महिला टी-२० विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन ।