धनगढीलाई हराउँदै पोखरा थन्डर्स पहिलो पटक एनएसएलको फाइनलमा

वैशाख १०, २०८२ |खेल ब्युरो
धनगढीलाई हराउँदै पोखरा थन्डर्स पहिलो पटक एनएसएलको फाइनलमा

काठमाडौं । पोखरा थन्डर्स पहिलोपटक नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई १-० ले हराउँदै पोखरा फाइनल प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा नै धनगढीका सर्जियो बारबोजाको प्रहार अफिज ओलावालेले भेट्न नसक्दा धनगढीले गोलको अवसर गुमायो । प्रतिस्पर्धात्मक खेलको नवौं मिनेटमा पोखराले फ्रि किक पायो, साइदोस्तोभको प्रहार गोलकिपर वालिदले बचाए । १४औं मिनेटमा धनगढीले फितलो प्रहार गरेपछि धनेगढी फेरि गोल गर्न चुक्यो । अफिजले शक्तिशाली प्रहार गर्न नसक्दा गोलकिपरले सहजै बल कलेक्ट गरे । १५औं मिनेटमा मार्की खेलाडी समीर तामाङले २५ यार्डबाट पोस्टभित्र प्रहार गर्न सकेनन् ।

२६औं मिनेटमा ओलावालेले पोस्टअघि बल नियन्त्रणमा लिन नसक्दा धनगढीले गोलको अवसर गुमाएको हो। ३६औं मिनेटमा पोखराको कम्बिनेसन प्लेमा धनगढीका गोलकिपरले बचाएका थिए । यसबाहेक दुवै टिमले राम्रो मुभ बनाउन नसक्दा पहिलो हाफ गोलरहित बन्यो ।

६१औं मिनेटमा पोखराले सुरज ज्यु ठकुरी र धनगढीले जर्ज प्रिन्स कार्कीलाई मैदानमा पठाएर ट्याक्टिकल परिवर्तन गरे । त्यसपछि खेलको ६५औं मिनेटमा पोखराले निकै सुन्दर प्रहार गर्‍यो । एनआरएनए खेलाडी सुदील राईको प्रहारमा वालिदले उत्कृष्ट बचाउ गर्दा पोखरा गोलमा असफल भयो ।

तर, दोस्रो हाफमा पोखरा सफल बन्यो । खेलको स्टपेज समयमा पोखराले अग्रता लियो । स्टेफेन समिर विनोङले कर्नरबाट आएको बलमा हेड मार्फत गोल गरे । पोखराका गौरव श्रेष्ठले रातो कार्ड पाएपछि एक खेलाडी कम हुनुका बाबजुद पोखराले अग्रता लिएको हो । अब शनिबार हुने फाइनलमा ललितपुरले पोखरासँग खेल्नेछ ।