काठमाडौं । म्याथुज नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २-१ को रोमाञ्चक जित हात पारेको छ । यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ ।
सातौं मिनेटमा बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे । यस गोलसँगै सिटीले सुरूवाती अग्रता बनाएको थियो । १८औं मिनेटमा डियासले जैकब राम्सेलाई बक्सभित्र फल गरेपछि भिएआरको सहायताले एस्टनले पेनाल्टी पाएको थियो ।
पेनाल्टीलाई रासफोर्डले शान्तपूर्वक गोलमा परिणत गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा सिटीले आक्रमणको गति बढायो । ओमार मारमुसले पोस्टभित्र प्रहार गरेपनि अफसाइड ठहरिए । यसबीच रासफोर्डले केही उत्कृष्ट मौका गुमाएका थिए ।
तर पाँच मिनेटको इन्जुरी समयमा भिल्लाको रक्षापंक्ति समालिन नसक्दा नुनेसले नाटकीय रूपमा खेल सिटीको पक्षमा पारे । नुनेसले जेरेमी डोकुको शानदार आउटसाइड पासलाई साइड-फुट गर्दै गोलमा परिणत गरेका थिए ।
यो जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३४ खेलमा ६१ अंक छ । सिटी चौथो स्थानको नटिङ्घम फरेस्टभन्दा एक र पाँचौं स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले अघि छ । भिल्ला भने सातौं स्थानमै अडिएको छ । उसको ४७ अंक छ ।